रैथाने बाली संरक्षण र प्रवर्द्धनमा मकवानपुरगढी गाउँपालिका

मकवानपुर।मकवानपुरको मकवानपुरगढी गाउँपालिका रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सक्रिय भएर लागेको छ । गाउँपालिकाले कोदो र फापरलगायत रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ ।

गाउँपालिकाले रैथाने बाली प्रवर्द्धनका लागि पचास प्रतिशत अनुदानमा कोदो चुट्ने, फल्ने मेसिन, पिसानी मेसिन, होटेल, रेस्टुरेन्ट, होमस्टे तथा खाजा घर सञ्चालकलाई तालिमसँगै ओभन, मिक्सचर र डिजिटल ब्यालेन्सलगायत उपकरण प्रदान गर्नुका साथै रैथाने बालीको ब्रान्डिङ तथा बजारीकरणमा विशेष अनुदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

यसै क्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा लागेको गाउँपालिले आजबाट कोदो र फापरको परिकार बनाउने तालिम सुरु गरेको छ । रैथाने बालीको उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा सञ्चालित तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता परिकार बनाउन सिकाइएको चौधरीले जानकारी दिनुभयो । माघ २९ गतेसम्म सञ्चालन हुने तालिमबाट बनेका परिकारहरूको फाल्गुन १ गते प्रदर्शनी गर्ने कार्यक्रम समेत गर्ने उहाँले बताउनुभयो ।

तालिममा नेपाल कृषि अनुसन्धान परिषद्का खाद्य प्राविधिक प्रवीण ओझाले सहजीकरण गर्नुभएको छ । तालिममा मकवानपुरगढी गाउँपालिकाका सबै वडाका होटेल, होमस्टे, खाजा घरका सञ्चालक र कृषि प्राविधिकहरूको सहभागिता रहेको छ । तालिमको आज एक कार्यक्रमकाबिच गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले उद्घाटन गर्नु भएको थियो ।
मकवानपुरगढी गाउँपालिकामा रैथाने बाली अन्तर्गत कोदो र फापर खेती हुने गरेको छ । रैथाने बाली प्रवर्द्धनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेसँगै अहिले कोदो खेती समेत बढेको छ।








प्रतिक्रिया राख्नुहोस्