डडेलधुरा अस्पताललाई ‘मेडिकल कलेज’ बनाउने सरकारको निर्णयको स्वागत
डडेलधुरा । सरकारले डडेलधुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा नभई हाललाई मेडिकल कलेजका रुपमा विस्तार गर्ने निर्णय प्रति डडेल्धुराबासीले स्वागत गरेका छन् ।
डडेलधुरा अस्पतालले आज आयोजना गरेको सर्वपक्षीय बैठकमा नेपाली काँग्रेस डडेलधुराका सभापति एवम् परशुराम नगर प्रमुख भीमबहादुर साउदले डडेलधुरा अस्पताललाई मेडिकल कलेज निर्माण गर्ने निर्णयको स्वागत गर्नुभयो ।
सात पहाडी जिल्लाको अस्पतालका रुपमा सेवा दिइरहेको डडेलधुरा अस्पताललाई मेडिकल कलेजका रुपमा स्थापित गरेर अघि बढ्ने कुराले जिल्लावासीमा खुसीयाली छाएको छ उहाँले बताउनुभयो ।
यसैगरी, एमाले नेता यज्ञराज अवस्थीले सरकारले घोषणा गरेको मेडिकल कलेज कागजमा मात्रै सीमित नहोस् कार्यान्वयनमा अघि बढोस् यो निर्णयको स्वागत गर्दछौँ भन्नुभयो ।
त्यस्तै, नागरिक समाजका प्रतिनिधि मानबहादुर साउदले सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेजका नाममा गरेको घोषणालाई स्वागत गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले कैलालीमा निर्माण सम्पन्न भएको मेडिकल कलेज सुरु हुन नसकेको अवस्थामा सरकारले फेरी डडेलधुरा अस्पताललाई मेडिकल कलेज बनाउँछौँ भनेर निर्णय गर्नुले मात्रै विश्वास गर्न नसकिने भन्दै कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालय बीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेलधुरा अस्पताल नै आधार संकायको रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकताक साथ अघि बढाउने” मन्त्रिपरिषद्को निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न भन्दै प्रस्ताव लगेको थियो तर मन्त्रिपरिषद् बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम हुने र हाललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरिसकेको अध्यक्ष ओझाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्