बेपत्ता पारिएका व्यक्तिका परिवारले पाउने क्षतिपूर्ति सम्बन्धी काम अगाडि बढाउन निर्देशन

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी कार्य र बेपत्ता पारिएका व्यक्तिको परिवारले पाउनुपर्ने क्षतिपूर्ति उपलब्ध गराउने सन्दर्भमा आयोगमार्फत हुने काम तीव्र रुपमा अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक तथा तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री बडूले पीडित व्यक्तिको न्यायका लागि सत्य अन्वेषण तथा छानबिनको काममा गति दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
स्थानीय तहसम्मका जनतामा न्याय पुर्याउने उद्देश्यले गठित न्यायिक समितिहरूबाट प्रभावकारी रुपमा न्याय सम्पादनका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको भन्नुहुँदै मन्त्री बडूले कानून क्षेत्रका प्रशिक्षित जनशक्ति तयार गर्न र जनप्रतिनिधिहरूलाई निर्वाचित भएको पहिलो चौमासिकभित्र नै तालीमको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
उहाँले विगतमा कोरोना महामारीका कारण समस्या भएकोले अब सूचना प्रविधिको प्रयोग गरेर भए पनि कार्यसम्पादनमा तीव्रता दिनुपर्ने र अर्को बैठकमा स्पष्ट प्रगति विवरणसहित उपस्थित हुन मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रलाभ कर्ण, मन्त्रालयका सचिव उदयराज सापकोटा, नेपाल कानून आयोग, सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, न्याय सेवा तालिम केन्द्रलगायत निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्