सुन्तलाका बोट बर्सेनि सुक्दै, किसान चिन्तित
रुकुम । रुकुम पश्चिमका सुन्तला किसानले अन्नबाली उत्पादन हुने जमिन तथा पाखो बारीमा लगाएका सुन्तलाका बोट सुक्न थालेका छन् ।
सुन्तलाको जरा कुहिने र पात समेत पहेँलो हुने रोगका कारण सुन्तलाका बोट सुक्न थालेका हुन् ।
प्रत्येक वर्ष सुन्तलाको बोट सुक्दै गएपछि बर्सेनि उत्पादनमा पनि कमी आएको किसान भरत ओलीको भनाई छ ।
सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको जिल्लाको त्रिवेणी, मुसिकोट, सानीभेरी लगायतका किसानले सुन्तलाले फल नदिँदै बोट सुकेर जाने समस्या देखिएको बताएका छन् ।
सुन्तला खेतीबाटै मनग्य आम्दानी गर्ने उद्देश्यले अन्नबाली उत्पादन हुने क्षेत्रमा गरिएको सुन्तलाबाट नोक्सानी व्यहोनु पर्दा हाल किसान चिन्तित बनेका छन् । यसबाट व्यावसायिक रूपमै सुन्तला खेती अँगालेका किसान मारमा परेका छन् । कतिपय सुन्तला किसानले भने अन्य खेतीको विकल्प रोज्न थालेका छन् ।
कृषि विकास कार्यालय रुकुम पश्चिम र विभिन्न पालिकाका कृषि शाखाले भने सुन्तला खेतीका लागि हरेक वर्ष किसानलाई सुन्तलाका बेर्ना वितरण गर्दै आएका छन् । तर सुन्तलाको बिरुवा वितरण गर्ने भएको भए पनि बोटमा लाग्ने रोग र अन्य कृषि प्राविधिक ज्ञानको विषयमा सम्बन्धित निकायले कुनै जानकारी र परामर्श नदिएकोमा किसानहरूको गुनासो छ ।







प्रतिक्रिया राख्नुहोस्