तथ्याङ्क सङ्कलनमा भएको त्रुटि सच्याउन गाउँपालिकाको माग

बाजुरा । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनमा लापरबाही गरेको भएको भन्दै गौमुल गाउँपालिकाले बुधवार पत्रकार सम्मेलन गरी सम्बद्ध निकायलाई त्रुटि सच्चाउन ध्यानाकर्षण गराएको छ ।
गौमुल गाउँपालिका उपाध्यक्ष सिता रोकाया थापाले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कमा गाउँपालिकाको जनगणना गर्दा कमजोरी गरेको बताउनुभयो ।
प्रारम्भिक तथ्याङ्कमा गाउँपालिकाको सङ्ख्यामा धेरैको गणनामा नआएको गाउँपालिका उपाध्यक्ष थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको हो । २०६८ सालको जनगणनामा गाउँपालिकाको सङ्ख्या ८ हजार ५ सय १५ रहेको छ । २०७८ को प्रारम्भिक तथ्याङ्कमा ८ हजार ७ सय ६५ देखाएको छ , उपाध्यक्ष थापाले भन्नुभयो यो प्रारम्भिक तथ्याङ्क सरासर गलत छ । प्रारम्भिक तथ्याङ्क सच्चाउनु पर्छ । १० वर्षमा जम्मा २५० का दरले जनसङ्ख्या वृद्धि देखिएको छ यस्तो नहुनु पर्ने उहाँको भनाई थियो ।
यो तथ्याङ्क गलत हुनुमा गणक नै दोषी रहेको उपाध्यक्षले रोकायले पत्रकार सम्मेलनमा भन्नुभयो । २०७५ सालमा घरघरमा पुगेर गाउँपालिकाको पार्श्वचित्र निर्माण गर्दा १० हजार ६ सय ९४ रहेको जनाएको छ । तीन वर्षपछि सरकारले लिएको तथ्याङ्कमा उल्टै घटेर आउँदा जनगणनामै कमजोरी रहेको उपाध्यक्ष रोकायाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
जनगणनामा केहीको सङ्ख्या गणना नभएको भन्दै तथ्याङ्क कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागमा ध्यानाकर्षण पत्र पठाइसकेको पनि विज्ञप्तिमा सम्बोधन गरिएको छ । गाउँपालिकाले २०७८ मा गाउँपालिकाको पार्श्वचित्र अद्यावधि गरिरहेको अहिले गाउँपालिको जनसङ्ख्या ११ हजार ५ पुगेको छ, यो सार्वजनिक गर्न बाँकी रहेको छ, तथ्याङ्क पुष्टि गर्न बाकी रहेको पालिकाले जनाएको छ ।
तथ्याङ्क कार्यालय बाजुराका प्रमुख केशरबहादुर ओलीले भन्नुभयो, “केन्द्रीय तथ्याङ्क विभागले अक्सर बसोबासका आधारमा जनगणना गरेको हो । जसले गर्दा स्थायी रुपमा बसोबास गर्नेको मात्र सम्बन्धित क्षेत्रबाट नामावली सङ्कलन गरिन्छ । ६ महिना भन्दा बढी जहाँ बसेको छ त्यही ठाउँबाट सङ्कलन हुने हुँदा पहिलेको र अहिलेको जनसङ्ख्यामा पनि फरक परेको हुनसक्छ ।
जनसङ्ख्या घट्नुका तीन कारण हुन सक्छन् । अक्सर बसोबास, बिदेसिनु र यो प्रारम्भिक जनगणना भएकोले डिटेल तथ्याङ्क आइ नसकेको । प्रारम्भिक तथ्याङ्क अनुसार बाजुराका १५ हजार ३ सय ४८ जनसङ्ख्या नेपाल बाहिर छ कार्यालय प्रमुख ओलीले भन्नुभयो ।
तथ्याङ्क कार्यालय बाजुराले दिएको तथ्याङ्क अनुसार २०७८ को प्रारम्भिक जनगणना अनुसार बाजुरामा १ लाख ३८ हजार ९ सय ९८ जनसङ्ख्या छ भने २०६८ को जनगणना अनुसार १ लाख ३४ हजार ९ सय १२ रहेको थियो दश वर्षमा ४ हजार ३८ अर्थात् तीन प्रतिशतले मात्र बाजुराको जनसङ्ख्या वृद्धि भएको देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्