तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट सञ्चालन

दार्चुला ।  जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । 

लामो समय बित्दा पनि सञ्चालन हुन नसकेको अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । 

कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजनको आवश्यकता भएकाले प्लान्ट स्थापना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा.आदर्श लिम्बुले सुदूरपश्चिम प्रदेश सरकारले छुट्याएको बजेट अनुसार अस्पतालले उक्त प्लान्ट जडान गरेको जानकारी दिनुभयो । उहाँले अक्सिजन प्लान्ट जडानपछि अबदेखि अक्सिजनको अभाव नहुने बताउनुभयो ।  

“हिजोका दिनसम्म यहाँ अक्सिजनको अभाव थियो । हामी ग्याँस भर्न टाढा जानुपर्दथ्यो । अहिले हामी प्लान्ट जडान गर्न सफल भएका छा” उहाँले भन्नुभयो, “यो हाम्रो लागि खुसीको कुरा हो । अब अक्सिजन अभावको कारण यहाँका जनताले कुनै हैरानी र सास्ती व्यहोर्नु पर्दैन ।”

जिल्ला अस्पताल दार्चुलामा दैनिक ४० लिटर क्षमताको ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । 

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा अक्सिजनका सिलेण्डरहरु कैलाली लगेर भर्नुपर्ने बाध्यता रहेको थियो । अब प्लान्ट र मेसिन सञ्चालनका लागि पर्याप्त विद्युत् आपूर्तिको आवश्यक भएकोले सोको लागि नियमित विद्युत् आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा डा.लिम्बुले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button