मासिँदै सल्यानका सिमसार क्षेत्र
सल्यान । जनसङ्ख्या वृद्धि भएसँगै अव्यवस्थित बसोबास, विकास निर्माण लगायतका कारण सल्यानका सिमसार क्षेत्र मासिँदै जान थालेका छन् ।
सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगीकरण लगायतका कारण सिमसार क्षेत्र सुख्खा र उजाड बन्न थालेका छन् ।

सिमसार क्षेत्र हराउँदै गएपछि आहारा नपाइने भएकाले चरा तथा पंक्षी समेत लोप हुँदै जान थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाई, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीय बासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहमा अर्थतन्त्रमा आत्मनिर्भर हुने डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख रमेश गिरीले बताउनुभयो । बढ्दो सहरीकरण, यातायात, अव्यवस्थित विकास निमार्ण लगायतका कारण सिमसार क्षेत्र व्यवस्थापनमा चुनौती थपेको उहाँको भनाई छ ।

सल्यानका मुख्य सिमसारको रुपमा कुपिण्डे ताल, कछुवा दह, शारदा नदी, बनगाड खोला, मर्म खोला लगायतका छन् । नदी तथा खोलाबाट अव्यवस्थित ढङ्गले बालुवा गिट्टी निकाल्ने, ढुङ्गा निकाल्ने कार्य गर्दा सिमसार क्षेत्र पुरिँदै र नासिँदै जान थालेका छन् ।
पूर्ण रुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रूपले बनेको तथा कृत्रिम रूपले बनाइएको, स्थायी वा अस्थायी रूपले जमेको पानी, जमिन मुनिको पानी वा वर्षाले जमेको वा बगेको पानीको क्षेत्रलाई सिमसारको रुपमा बुझिने डिभिजन प्रमुख गिरीको भनाई छ ।

सिमसार क्षेत्रको संरक्षण एवं प्रवर्द्धन गर्न वृक्षारोपण, रिचार्ज पोखरी निर्माण गर्दै आइरहेको कार्यालयले जनाएको छ ।
परम्परागत रुपमा गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गरेर राख्ने प्रचलन पुरानो समयदेखि रहँदै आएको छ ।
तर, भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा पोखरी, दह, खोला, कुवाको महत्त्व घट्दै, पुरिँदै, सुक्दै र अन्य उपयोगमा जाँदा मासिँदै गएको गिरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्