तपाईँ सुन्दै हुनुहुन्छः

कचनकवलमा ६८ स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरण

झापा । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूर दराजका गाउँ–बस्तीका घर–घरमा वर्षौँदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्‍याउँदै आएका स्वास्थ्य स्वयम् सेविकाहरूको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको छ ।

स्वास्थ्य स्वयम् सेविकाहरूको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले गाउँपालिकाले नयाँ साइकल वितरण गरेको हो ।

गाउँपालिकामा हाल सेवारत ६१ जना र वर्षौँसम्म सेवा पुर्‍याएर हाल अवकाश भएका सात जना गरी ६८ जनालाई साइकल वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, योजना शाखा प्रमुख केशव मैनाली लगायतले स्वयम् सेविकाहरूलाई साइकल हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयम् सेविकालाई साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिनुभयो । साइकल खरिदमा करिब ५ लाख रुपैयाँ खर्च भएको योजना शाखा प्रमुख केशव मैनालीले जानकारी दिनुभयो ।

कार्यक्रमका बिच सेवाबाट अवकाश पाएका सात जना स्वयम् सेविकालाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद पारितोषिकसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button