बाढीबाट क्षति भएका संरचनाको पुनर्निर्माण तत्काल थाल्न आग्रह
सिन्धुपाल्चोक । पूर्व मन्त्री एवं सिन्धुपाल्चोक सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शेरबहादुर तामाङको अध्यक्षतामा मेलम्ची र इन्द्रावती नदिमा गत असार १ गते र त्यसपछि आएको भीषण बाढीबाट क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माण सम्बन्धमा आज सडक विभाग, ललितपुरमा छलफल भएको छ ।

बैठकले हेलम्बु, मेलम्ची, पाँच पोखरी र इन्द्रावती क्षेत्रमा गत असार १ गते र त्यसपछि आएका भीषण बाढीबाट ध्वस्त भएको मेलम्ची देखि— पाँच पोखरी, ईन्द्रावति, चौतारा जोड्ने पक्की पुल, मेलम्ची फट्टे मोटर पुल र मेलम्ची हेलम्बु सडक खण्डको थप ३ वटा पक्की पुलहरू, मेलम्ची हेलम्बु सडक, मेलम्ची भोताङ सडकको तत्काल पुनर्निर्माण गर्न सडक विभाग मार्फत छोटो विधिबाट कार्यान्वयन गराउने निर्णय समेत भएको छ । बाहुनेपाटीको पुललाई तत्काल कार्य सम्पन्न गर्न निर्देशित भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।
बैठकमा मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले पुनर्निर्माणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
पाँच पोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलम्ची भोताङ सडक बर्षायाम अगाडि नै पुनर्निर्माण गरिनुपर्ने माग गर्नुभयो ।
सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले बैठकमा उठेका विषयवस्तुहरूलाई छिट्टै सडक विभागको तर्फबाट विभागले सम्बोधन गर्ने निर्णय भएकोले पूनःनिर्माणको काम छिट्टै सुरु हुने बचन दिनुभएको छ । बैठकले छिटो प्रक्रियाबाट पूल र सडक निर्माणको काम सुरु गर्ने निर्णय भएको सो बैठकमा सहभागी निर्मल बन्जाराले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्