तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै घटनाहरूमा तीन जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुर जिल्लामा छुट्टाछुट्टै घटनाहरूमा आइतबार राति तीन जनाको ज्यान गुमेको छ । आइतबार राति १० बजेतिर कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जका २५ वर्षीय रामविलास रानाले अंशबण्डाको विवादमा बन्चरो प्रहार गरी आफ्नै ४२ वर्षीय बुवा ठग्गु रानाको हत्या गरेका छन् ।

अभियुक्त रामविलासलाई राति नै पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहीले जानकारी दिनुभयो ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुर बिचपुरी सडक खण्डमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने ४५ वर्षीय पुरन चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार राति नै भीमदत्त नगरपालिका वडा नम्बर ८ जिमुवामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने १८ वर्षीय राजेश बमको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार १९ वर्षीय पुष्कर बमको उपचार भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता शाहीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button