पोखराको लामगादीमा पुल लच्किएपछि अख्तियारमा उजुरी

कास्की । निर्माण सम्पन्न भएर परीक्षणका लागि तयार भएको पोखराको एक पुलको टेको झिक्ने बित्तिकै लच्किएको छ ।
पोखरा महानगरपालिकाका वडा नं ३३ लामगादी र वडा नम्बर ३२ गगनगौंडा जोड्ने गरी निमार्ण गरिएको पुल यसको गुणस्तर, डिजाइनजस्ता पक्षमा अहिले स्थानीयहरूले प्रश्न उठाएका छन् ।
पुल सञ्चालन हुनुअघि नै लच्किएपछि निर्माणमा लापरबाही भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको छ ।
भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था कास्की सचिव रामबहादुर पौडेलको नेतृत्वमा पुल भाँच्चिएको विषयमा छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको छ ।
सिटिजन जुरी कास्कीले पुल सञ्चालन हुनअघि नै काम नलाग्ने हुनुका कारण सूक्ष्म रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही माग समेत गरेको छ ।
“अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फास्ट ट्र्याकमा सूक्ष्म छानबिन माग गरेको छौँ । अनियमिततामा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ,” पौडेलले भन्नुभयो ।
२०७५÷०७६ मा स्विस सरकार विकास सहयोग (एसडिसी)को आर्थिक सहयोगमा स्थानीय विकास पूर्वाधार (डोली)ले पुल निर्माण थालेको थियो । सुरुमा ५० मिटर लामो पुल बनाउने भनिए पनि पछि ६० मिटर लम्बाइको पुल बनाउने निर्णय भएको थियो ।
पुल निर्माणका लागि एमएस इलाइट कन्स्ट्रक्सन कम्पनीसँग ६ करोड ११ लाख रुपैयाँमा सम्झौता भएको थियो । १८ महिनाभित्र काम सक्ने गरी भएको सम्झौता पुसमा सकिएको छ ।

पुल सञ्चालनका लाग माघ १० गते दिउँसो परीक्षण गर्ने तयारी भएको थियो । पुल लच्किएपछि परीक्षण गर्न माटो बोकेर गएका टिप्पर फर्काइएको पोखरा महानगरपालिका वडा नं. ३२ वडाध्यक्ष अकलबहादुर कार्कीले बताउनुभयो । निर्माण कम्पनीको लापरबाहीले यस्तो भएको कार्की बताउनुहुन्छ ।
सम्झौताभन्दा बाहिर गएर काम गरेको पाइएको उहाँको दाबी रहेको छ । ‘रड ३५० मोटाइको हुनुपर्नेमा १० याम यम, कोही ठाउँमा १५ यामयाम हालेको देखियो । पुलले आफ्नै तौल धान्न नसकेर यस्तो भएको कार्कीले बताउनुभयो
पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले पुल भाँच्चिएको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । “प्रविधिसहितको टोलीले अनुसन्धान सकेपछि रिपोर्टले के भन्छ त्यही अनुसार पुल निर्माण हुनुपर्छ,” उहाँले भन्नुभयो । पुलबारे अख्तियार पोखरा कार्यालय अध्ययन सुरु गरेको कार्यालय प्रमुख कोशहरि निरौला बताउनुभयो ।
“यसबारे उजुरी प्राप्त भएको छ । हामी पत्रपत्रिकामा आएका कुरालाई पनि सूचनाका रुपमा लिन्छौँ । उजुरीले दिएको कुरालाई ग्रहण गर्छौँ । यसको विषयमा छानबिन सुरु भएको ।” आवश्यक परे स्थलगत अनुगमन समेत गर्ने निरौलाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्