‘सहयोगकाे प्रतीक्षामा शहीद परिवार’

तनहुँ । व्यवस्था परिवर्तनका लागि देशको केन्द्रबाट सुरु भएको आन्दोलनले तनहुँ पुलिमराङका ६ जनालाई शहीद बनायो । व्यवस्थासँगै जनता र देशलाई जहानियाँ राणा शासन र पञ्चायत व्यवस्थाबाट मुक्त गर्ने आन्दोलनमा होमिएर धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, शमशेरबहादुर गुरुङ, भरत गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले बलिदानी दिए ।
एउटै गाउँबाट यतिका सङ्ख्यामा शहीद जन्माएको व्यास नगरपालिका–८ पुलिमराङ र शहीदका परिवारसँग अहिले गर्विलो शब्द भन्दा धेरै गुनासा छन् ।
सदरमुकाम दमौलीबाट निकै परको गाउँ पुलिमराङको शिरानमा यी शहीदहरूको अर्धकद सहितको सालिकलाई संरक्षण गर्न स्मारक निर्माण गर्नु बाहेक अन्य केही नभएको यहाँका स्थानीयहरूको गुनासो छ । ‘शहीदको गाउँ/ठाउँ भनेर सबैतिरबाट चर्चा हुन्छ तर त्यही अनुसारको विकास भने हुन सकेन ।’ स्थानीय खड्कबहादुर गुरुङले भन्नुभयो ‘शहीदको नाम लिएर हाम्रा नेताहरूले धेरै पटक भ्रममा पारेर चुनाव जिते पनि यहाँको वास्ता कसैलाई भएन ।’ टोल विकास संस्थाका सदस्य समेत रहनुभएका उहाँले आफ्ना अग्रजहरूले यो राज्यलाई दिएको योगदानको सम्मान हुनुपर्ने बताउनुभयो ।

तत्कालीन राणाको निरकुंश शासन विरुद्ध लागेका यहाँका धर्मध्वज गुरुङ प्रजातन्त्र ल्याउन भूमिका खेल्दा २००७ साल माघ १ गते बन्दिपुरमा शहीद हुँदाको क्षण अझै पनि पुलिमराङका वृद्ध टेकबहादुर गुरुङलाई याद छ ।
नागरिक स्वतन्त्रताको सपना बोकेर आन्दोलनमा होमिएका यहाँका छ शहीदका परिवार अझैसम्म पनि राज्यको नजरमा नपर्नुले यहाँका टेकबहादुरहरुलाई दुःख लाग्दछ । सर्वस्व गुमाएर सजाय भोगेका शहीदका परिवारको दुखको साक्षी उहाँले सरकारबाट कुनै न कुनै प्रकारले पहिचान दिइनुपर्ने माग गर्नुभयो । ‘यी शहिद परिवारले पनि केही न केही सहुलियत त पाओस् न, यो शहीदको छोरा हो शहीदको श्रीमती हो भन्ने केही पहिचान पनि भएन ।’ उहाँले भन्नुभयो ‘शहिद परिवारको सदस्य पहिचान हुने प्रावधान बनाइए पनि चित्त बुझ्थ्यो ।’ शहिद परिवारलाई सरकारले अपहेलन गरेको गुनासो गर्दै उहाँले शहिद स्मारक बनाउन समेत चासो नदिएको बताउनुभयो ।
तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा लागेकै कारण पुलिमराङमै गोली हानेर हत्या गरिएका शहीद भरत गुरुङको विरासतमा उनको पुस्ता अझै सङ्घर्ष गरिरहेका छन् । शहिद परिवारका सदस्य औषत जीवन जिउँनकै लागि सङ्घर्ष गर्नुपर्ने अवस्थामा रहेको भुपेन्द्रजंग गुरुङले बताउनुभयो । शहिद भरतका नाति भूपेन्द्रले आफ्नो पुस्ता खाडीमा परिश्रम गर्न जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । हजुरबुवा शहिद भएपछि नै आफूहरूको दुखका दिन सुरु भएको दाबी गर्ने उहाँले खाडीमा शहीदको परिवारको सदस्य हुँ भन्दा समेत अप्ठ्यारो लाग्ने गरेको अनुभव सुनाउनुभयो । ‘तिमी शहीदको नाति र हामीमा के फरक छ त ?’ साथीहरूले भन्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो ‘सेवा–सुविधाको आशा होइन तर पहिचान भइदिए हुन्थ्यो जस्तो लाग्छ ।’

शहीद परिवारका सदस्यले राम्रो शिक्षाकै लागि समेत सङ्घर्ष गर्नु परेको अवस्थाका कारण पछिल्ला पुस्तासम्म असर परेको उहाँको बुझाई छ । सामान्य शैक्षिक योग्यता राख्ने उहाँले शहिद अर्थात् आफ्नो पुर्खाले व्यवस्था परिवर्तनका लागि खेलेको भूमिकालाई राज्यले बिर्सिए पनि राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले लेखेको कविताका हरफहरू भने सम्झिरहेको सुनाउनुभयो ।
पुलिपराङको ठिक पारी लमजुङ पुस्तुना गाउँका कविले छिमेकी गाउँका शहीदहरूको सम्झनामा लेखेको कविता :
सुन हे साथी अमर धर्मध्वजको कहानी
जुँगाको रेखी बसेको ठिटो बिर्सन्न मनमा
उनको गीत सुनिन्छ अझै कुन्छाको वनमा
आमालाई मेरो सञ्चार लगी ‘सञ्चै छ’ भन्दिनू
‘कहिले आउँछ’ सोध्नेछिन्, ‘भोलि आउँछ’ भन्दिनू
बाबालाई भन्नू ‘हजुरको छोरो हुँदैन कायर,
हाँसीमा हाँसी छातीमा थाप्यो बन्दुक फायर
’देशका दाजु भाइलाई मेरो आखिरी खबर
म मरेँ, मेरो नेपाली जाति रहिरहोस् अमर
लाखको निम्ति म मर्न पाएँ, यही मलाई सुख छ
नेपाल अझै बनेको छैन, यही मलाई दुख छ
बोल्दामा बोल्दै परेला ढले कोपिला निदायो
साँझमा एउटा हँसिलो तारा स्वर्गमा उदायो
पुलिमराङमा १९८४ मा जन्मिएका धर्मध्वज गुरुङ २३ वर्षको उमेरमा प्रजातन्त्र ल्याउन आन्दोलनमा होमिएका बखत बन्दिपुरमा शहीद भएका थिए भने शहीदहरू ३६ वर्षीय लालध्वज गुरुङ, ३६ वर्षकै सर्वसिंह गुरुङ र २८ वर्षीय हस्तवीर गुरुङलाई पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लागेको अभियोगमा तनहुँ र कास्कीको सिमाना कोत्रे खोलामा निर्मम हत्या गरिएको थियो ।
यस्तै सोही आन्दोलनमा लागेको भन्दै यहाँका ३४ वर्षीय शमशेर बहादुर गुरुङलाई चितवनको भरतपुर र ४१ वर्षीय भरत गुरुङलाई पुलिमराङमा गोली हानेर हत्या गरिएको थियो । पुलिमराङमा उनीहरूको सम्झना स्वरूप सरकारले तीन दशक अघि देखि निर्माण थालनी गरेको स्मारक अझै पूर्ण बन्न सकेको छैन । यहाँ हरेक बर्ष माघ १६ गते व्यास नगरपालिकाले अल्ट्रा म्याराथन सहित शहिद दिवस विशेष कार्यक्रम गर्दै आएको छ । यो बर्ष कोरोना महामारीका कारण अल्ट्रा म्याराथन प्रतियोगिता स्थगित गरिएको व्यास नगरपालिकाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्