तपाईँ सुन्दै हुनुहुन्छः

आगामी फागुन ९ गते  ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी

सिद्धार्थनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते  ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको बताउनुभएको छ ।

आज दिउँसो भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।” हुस्सु, कुहिरो र भिजिबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् ।

मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।”

छेउमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भन्नुभयो, “सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौँ ।”

लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गर्नुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्छ भन्नुभयो ।

एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भन्नुभयो, “यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिब्रेशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फेब्रुअरी २१ मा भैरहवामा जहाज ल्यान्डिङ हुनेछ तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।”

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर रु साढे सात अर्ब लगानी भइसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button