भत्ता र राजस्व रकम हिनामिनामा संलग्न विरुद्ध आरोपपत्र दायर

नुवाकोट। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र विभिन्न शीर्षकमा उठेको राजस्व रकम हिनामिनामा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीहरूले सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेकाले रु त्रिपन्न लाख एक हजार ८५६ बिगो कायम गरी निजहरूबाट असुलउपर हुनुपर्ने मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । गत चैत २४ गते राति सामाजिक भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकमा सङ्कलन भएको राजस्व कार्यालयबाटै हराएको भन्दै आयोगमा उजुरी परेको थियो ।
उक्त घटनाको अनुसन्धान हुँदा वडा सचिव राउत र कार्यालय सहायक गिरीले सामाजिक सुरक्षा रकम रकम बैङ्कबाट लिएर आएको तथा वडा सचिव, कार्यालय सहायक र सहयोगीको रहोबरमा कार्यालयको दराजमा राखिएको, दराजको सेफको चाबी वडा सचिव राउत र कार्यालय सहायक गिरीसँग रहेको र कार्यालयको चाबी सहयोगी मिश्रले बोकेको पाइएको आयोगले जनाएको छ ।
घटनापश्चात् कुनै पनि चाबी लगाएको ठाउँमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।








प्रतिक्रिया राख्नुहोस्