झापामा विद्युतीय राहदानी वितरण सुरु
झापा । जिल्ला प्रशासन कार्यालय झापाले आजदेखि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गर्न थालेको छ ।
राहदानी विभागले जिल्लामा पहिलो पटक विद्युतीय राहदानी पठाएपछि प्रमुख जिल्ला अधिकारी छवि रिजालले सेवाग्राहीलाई विद्युतीय राहदानी वितरण गर्दै यसको शुभारम्भ गर्नुभयो ।

प्रजिअ रिजालले आफ्नै कार्यकक्षमा कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, कर्मचारी तुलसी आचार्य र सेवाग्राही नूतन थापालाई एकै पटक विद्युतीय राहदानी वितरण गर्नुभयो ।
विभागले विद्युतीय राहदानी प्रयोगमा ल्याएसँगै जिल्ला प्रशासन कार्यालय झापाले जनवरी १ तारिखदेखि विद्युतीय राहदानीका लागि अनलाइन फारम लिन सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । सुरुमा परीक्षणका लागि थोरै सङ्ख्यामा अनलाइन फारम लिएर कार्यालयभित्रै फोटो खिचाएको उहाँले बताउनुभयो ।
जनवरी १ तारिखदेखि १२ तारिखसम्म बुझाइएका १६८ वटा फारामको विद्युतीय राहदानी आएको र वितरण पनि सुरु गरिएको उहाँले बताउनुभयो ।
अहिले दैनिक ४०–५० जनासम्मको फोटो खिचिरहेको राहदानी फाँटका रामहरि खतिवडाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्