मकवानपुरमा शनिबार ६२ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा शनिबार ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९४ जनाको पिसीआर परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार स्वाब सङ्कलन गरिएका मध्ये ६६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एन्टिजेन परिक्षण भने गरिएको छैन ।
कोरोना संक्रमण भएका मध्ये ४ जना संस्थागत आइसोलेसन र ३६० जना होम आइसोलेसनमा गरी जिल्लामा ३६४ जना उपचाररत रहेको कार्यालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट जिल्लामा कसैको मृत्यु नभएको समेत कार्यालयले जानकारी दिएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १६८ जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै मकवानपुरमा हालसम्म २ लाख ७४ हजार ४८६ जनाले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र १ लाख ९३ हजार ३५० जनाले पूर्ण भ्याक्सिन (खोप) लगाइसकेको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्