बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम स्वीकृत भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार गठन भएको ७७ औँ दिनमा ५७ बुँदे प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम, २०७८ स्वीकृत गरेको हो ।
गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले सोही दिन ४ सदस्यीय प्रदेश सरकार गठन गर्नुभएको थियो । पटक पटक गरी १८ सदस्यीय पाण्डे नेतृत्वको प्रदेश सरकारले मङ्गलवार ५७ बुँदे न्यूनतम साझा कार्यक्रम पारित गरेर बुधवार राती सार्वजनिक गरेको हो ।
प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गर्ने, सङ्घीयताको कार्यान्वयनका लागि सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्यलाई मजबुत बनाउँदै प्रदेश तहको संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेश सरकार सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच स्थापित गर्ने, आर्थिक र सामाजिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च र सम न्यायिक आर्थिक विकासमा जोड दिने, उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ ।
कोभिड–१९ का कारण बढी प्रभावित क्षेत्रको उत्थान तथा कोभिड–१९ बाट प्रभावित श्रमजीवी, विपन्न, बेरोजगार लक्षित कार्यक्रम सञ्चालन गर्ने, बाढी, पहिरो, आगलागी, डुबान तथा अन्य प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरू गर्ने, स्वयंसेवक तालिम दिई विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी बनाउने जस्ता विषयहरू समावेश गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्