पत्रकार र पत्रकारिता क्षेत्र निष्पक्ष हुनुपर्छ : नेता गुरुङ

तनहुँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले पत्रकार र पत्रकारिता क्षेत्र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले देशको चौथो अङ्ग सञ्चार क्षेत्र निष्पक्ष भई जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो ।
राज्यको आलोचकका रुपमा मिडिया रहने बताउँदै उहाँले आलोचनात्मक रुपमा अघि बढिरहँदा मिडियाबाट नै अन्याय पनि हुनसक्ने तर्फ पत्रकारहरू सजग बन्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारको विपक्षमा हुने मिडिया अन्य पक्षभन्दा जिम्मेवार र निष्पक्ष हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले सबै राजनीतिक दलले देश विकासको साझा एजेन्डा बनाउन आवश्यक रहेको बताउनुभयो । सधैँ आफ्नो जितका लागि मात्र राजनीतिक दलहरू केन्द्रित हुँदा देश विकास र समृद्धिको लागि चिन्तन नभएकोमा उहाँले गुनासो गर्नुभयो ।
उहाँले एमालेको नेतृत्वमा देश समृद्धिको पथमा अघि बढेको दाबी गर्दै यसको पक्षमा पत्रकारहरूले कलम चलाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका एमाले तनहुँका निवर्तमान निवर्तमान अध्यक्ष केदार सिग्देलले पार्टी भित्रका गलत प्रवृत्तिको भण्डारफोर गर्ने माध्यम पत्रकार नभएकाले निडर र निर्भिक भएर कलम चलाउन आग्रह गर्नुभयो ।
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले विभिन्न अनलाइनहरूमा भ्रामक समाचारहरू आउने गरेको भन्दै सञ्चार क्षेत्रले यो प्रवृत्तिलाई रोक्न पहल गर्नुपर्ने बताउनुभयो ।
जिल्ला अधिवेशनमा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ नेपालका केन्द्रिय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश भट्टराई, समुन्द्र पौडेल, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, प्रेस सेन्टर तनहुँका अध्यक्ष सानेबहादुर नेपाली, सञ्चारिका समूह तनहुँकी अध्यक्ष सम्झना रसाइली, फोनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठ लगायतले पत्रकारिता क्षेत्रलाई गर्बिलो बनाउन सबै पक्षको साथ रहनुपर्नेमा जोड दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्