बागमती प्रदेशका स्वास्थ्य क्षेत्रमा कार्यरत ४७९ कर्मचारीको करार अवधि थप
मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ कर्मचारीको सेवा अवधि थप गर्ने निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवा अवधि ६ महिना थप गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालका अनुसार अघिल्लो वर्ष कोभिड महामारी तीव्र बनेका बेला करारमा राखिएका ४७९ जना प्राविधिक कर्मचारीको म्याद थप गर्ने निर्णय गरिएको हो ।
उनीहरूको म्याद यही पुस मसान्तसम्म मात्र रहेको र ६ महिनाका लागि करार अवधि थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै बैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा प्रदेश स्तरीय कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै बैठकले सत्तारुढ गठबन्धनबिच समझदारी पत्रलाई मन्त्रिपरिषद्कै अङ्ग बनाएर कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । गठबन्धनबिचको समझदारी पत्रमा सात वटा प्राथमिकता तोकिएको पनि उहाँले बताउनुभयो ।
प्रदेशअन्तर्गत भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने तथा कार्यालय स्थापन गर्न आवश्यक जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत रोयल्टी लिँदै आएकोमा ५० प्रतिशत छुट गरी अब एक प्रतिशत मात्र कर तिरे हुने व्यवस्था मन्त्रिपरिषद्ले गरेको जानकारी दिनुभयो ।
सरकारले कर बुझाउने अवधि पनि एक महिना थप गरी माघ मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्