तपाईँ सुन्दै हुनुहुन्छः

जहदा गाउँपालिकामा बाली उपचार शिविर सञ्चालन

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले मोरङको जहदा गाउँपालिका–४ मा बाली उपचार शिविर सञ्चालन गरेको छ ।

तरकारी बालीमा लाग्ने रोग किराको पहिचान तथा त्यसको रोकथाम गर्न सहज होस् भन्ने उद्देश्यले परियोजनाले एक दिने शिविर सञ्चालन गरेको हो । परियोजना कार्यान्वयन इकाई तरकारी जोनको आयोजना र वाली प्रयोगशाला प्रदेश न १ तथा कृषि ज्ञान केन्द्रको सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरबाट जहदा गाउँपालिका तथा कटहरी गाउँपालिकाका ४० जना भन्दा बढी किसानले सेवा लिएको परियोजना प्रमुख विनोदकुमार मण्डलले जानकारी दिनुभयो ।

जहदा गाउँपालिकाको ३ र ४ तथा कटहरी गाउँपालिकाको २, ३ , ४ र ६ नम्बर वडामा चालु आर्थिक वर्षदेखि परियोजनाले तरकारी जोन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

साँढे ५ सय हेक्टर क्षेत्रफलमा विस्तार भएको जोन कार्यक्रमलाई लक्षित गर्दै शिविर सञ्चालन गरेको र बालीमा लाग्ने रोग नियन्त्रणका लागी किसानलाई निःशुल्क विषादी वितरण गरिएको परियोजना प्रमुख मण्डलले बताउनुभयो ।

तरकारको पाकेट क्षेत्रको रुपमा चिनिने जहदा गाउँपालिकाको किसानहरूले तरकारी बालीमा कुन प्रकारको रोग लागेको छ भन्ने जानकारी लिन तरकारीका बिरुवा ल्याएर शिविरमा जाँच गराएका थिए ।

वाली संरक्षण प्रयोगशालाको निमित्त प्रमुख घनश्याम बरालले शिविरमा जाँच गर्दा काउली, बन्दा कोभीहरूमा पुतली लाग्ने तथा अन्य तरकारी बालीमा ढुसी, डढुवा तथा जरा कुहिने रोग तथा गोलभेँडामा भाइरस बढी देखिएको बताउनुभयो ।

कटहरीका किसान शिवनाथ सिंहले परियोजनाले किसानको घर आँगनमा शिविर सञ्चालन गरेपछि बालीमा लाग्ने विभिन्न प्रकारको रोग तथा त्यसको रोकथामको बारेमा जानकारी भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button