सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण

काठमाडौँ । नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित संस्थापक प्रथम सेनापति राष्ट्रनिर्माताको सालिकमा कायममुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्प गुच्छा अर्पण गर्नुभयो ।
विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको हो ।
आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उहाँले दिनुभएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ ।
दिव्योपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सशस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् ।
राष्ट्र निर्माताको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्य रूपमा मनाउने क्रममा सेनाले यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख÷रचना प्रतियोगिता आयोजना गर्यो ।
सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’सहितको टर्च सैनिक मुख्यालयमा पुर्याएर विसर्जन गरियो । सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट, नागार्जुन हुँदै सोमबार हनुमानढोका आइपुगेको थियो । प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष रुपमा साथ मनाइँदै आएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्