तपाईँ सुन्दै हुनुहुन्छः

सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन जिप्रका मकवानपुरको आह्वान

मकवानपुर । जिल्ला प्रशासन कार्यालय (जिप्रका) मकवानपुरले कोरोनाको सङ्क्रमणको सङ्ख्या वृद्धि हुँदै गएको भन्दै जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न आह्वान गरेको छ ।

प्रशासनले सोमबार अपिल जारी गर्दै जिल्लामा कोभिड १९ सङ्क्रमणको दर पुनः बढ्दो क्रममा रहेकाले सबै क्षेत्रलाई जनस्वास्थ्यका मापदण्डहरू पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सोमबार बसेको बैठकको सिफारिसमा जिल्लाभित्र कोभिड १९ सङ्क्रमणको जोखिम नियन्त्रण एवम् न्यूनीकरण गर्न र जनजीवन सामान्य तुल्याई राख्न बढी भिडभाड हुने गतिविधिहरू नगर्न, नगराउन, भौतिक दूरी कायम एवम् मास्कको अनिवार्य प्रयोग गर्न, गराउन र सबै क्षेत्रहरूमा जनस्वास्थ्यका मापदण्डहरू पूर्ण रूपमा पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सोमबार बसेको बैठकले जिल्लामा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।

बैठकले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न आव्हान गर्ने, सबै स्थानीय तहहरूले प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गर्ने र पूर्ण खोपको सुनिश्चितता गर्ने, कोरोना परीक्षणको दायरा बढाउने, स्वास्थ्य पूर्वाधार एवम् जनशक्ति र अक्सिजनको व्यवस्थापन गरी पूर्व तयारी अवस्थामा रहने, सरकारी कार्यालय एवम् सार्वजनिक संस्थानहरूले सेवाग्राहीहरूले कोभिड विरुद्धको खोप लगाए, नलगाएको यकिन गर्ने र खोप नलगाएको पाइएमा खोप लगाउन अनुरोध गर्ने लगायतका निर्णय गरेको प्रजिअ पाण्डेले बताउनुभयो ।

यसैबीच मकवानपुरमा सोमबार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४२ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १३ जनामा र ४३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या १५ हजार ६ सय ४४ जना पुगेको छ । यस्तै जिल्लामा कोरोना जित्नेको कुल सङ्ख्या १५ हजार ३ सय ३२ पुगेको छ ।

जिल्लामा हाल ७९ जना कोरोना भाइरस सङ्क्रमणका सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये चार जना संस्थागत आइसोलेसनमा र ७५ जना होम आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो समय मकवानपुरमा दैनिक रुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यस अघि हिजो जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button