बारा, पर्सा लगायत जिल्लाका सिमानाकामा कडाइ
बीरगंज । कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का बारा, पर्सा रौतहट लगायतका ८ जिल्लाका भरतसँग सीमा जोडिएका नाकाहरूमा कडाइ गरिएको छ ।
छिमेकी राष्ट्र भारतमा दैनिक हजारौँको सङ्ख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो ।

प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरिएको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजीकरणमा पालिकाहरूमा हेल्प डेस्कसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । प्रदेश–२ को बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ ।
प्रदेश–२ का कतिपय स्थानीय तहहरूले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयले जनाएको छ ।
ओमिक्रोन भाइरसको जोखिम बढ्नुका साथै सङ्क्रमितहरू समेत दैनिक वृद्धि हुनुले बीरगंज लगायतका प्रदेश २ का अधिकांश नाकाहरू कोरोनाको ‘हटस्पट’ बन्न सक्ने चिकित्सकहरूले बताएका छन् ।
मुलुकको सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाका समेत प्रदेश–२ मै रहेको छ । आठ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमिटर मोटरबाटो र करिब पाँच सय ५७ स्थानका गल्लीहरूबाट नेपाल–भारत आवतजावत हुने गरेको छ ।
यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायबाट कडा निगरानी नहुनु दुःखद विषय भएको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् ।
जिल्ला स्थित विपद् व्यवस्थापन केन्द्रले पनि खासै योजना बनाउन नसकेको स्थानीयको आरोप छ ।
देशकै प्रमुख नाका बीरगंज भन्सार नाकामा मात्रै आवतजावतमा कडाइ हुन सके पनि केही हदसम्म भारतबाट भित्रिन सक्ने कोरोना सङ्क्रमितहरूको पहिचान र नियन्त्रण हुनसक्ने विज्ञहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्