तपाईँ सुन्दै हुनुहुन्छः

सम्झना र गाजलसँग मन्त्री झाँक्रीको मितेरी साइनो

सल्यान । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लोपोन्मुख राउटे समुदायको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।

शुक्रवार सुर्खेतको सिम्ता गाउँपालिका –४ पटाउके कालिखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा पुगी मन्त्री झाँक्रीले राउटेको सुरक्षाको लागि आवास, शिक्षा र स्वास्थ्य सेवा दिन सरकार सकारात्मक भएको उल्लेख गर्नुभयो । पहिलो चरणमा राउटे समुदाय जहाँ जान चाहन्छन् त्यही सुरक्षित आवास निर्माण गर्ने राउटे मुखियाको रोहबरमा सहमति भएको छ ।

राउटे समुदायको व्यवस्थापनको जिम्मा राज्य लिने र त्यसको लागि उनीहरूलाई शारीरिक र मानसिक रूपले जनचेतना बढाउने मन्त्री झाँक्रीको भनाइ छ ।

राउटेलाई भेट्न बस्तीसम्म पुग्नुभएकी झाँक्रीले ६५ थान ब्ल्यांकेट पनि हस्तान्तरण गर्नुभयो ।

मन्त्री झाँक्रीले राउटे समुदायकी सम्झना शाही र गाजलसँग मितेरी साइनो समेत गाँस्नुभएको छ । नेपाली समाजमा राउटेहरूलाई समाहित गर्न नाता जोडेको उहाँको भनाई छ ।

सामाजिक सञ्जालमा भाइरल भएका सम्झना र गाजलसँग मन्त्री झाँक्रीले मितेरी साइनो गाँस्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button