तपाईँ सुन्दै हुनुहुन्छः

सभ्य समाज निर्माणमा विज्ञापनको महत्त्वपूर्ण भूमिका : मन्त्री कार्की

File Photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभ्य समाजको निर्माणमा विज्ञापनको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ । 

नेपाल विज्ञापन सङ्घ (आन)को २२ औँ वार्षिक साधारण सभालाई आज काठमाडौँमा सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले समाजमा भेदभाव बैमनस्यता र राजनैतिक गन्ध दिने खालका विज्ञापन प्रकाशन प्रसारण हुन नदिन सरकारी संयन्त्र सँगै विज्ञापन सङ्घ पनि सचेत रहनुपर्ने बताउनुभयो । 

सञ्चारमन्त्री कार्कीले समृद्ध र सभ्य समाज निर्माणमा बल पुग्ने गरी विज्ञापनका सामग्री तयार पार्न र प्रकाशन तथा प्रसारणमा ल्याउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । 

सञ्चारमन्त्री कार्कीले विज्ञापन व्यवसायको विकास र विस्तारमा सरकार सदैव साथमा रहेको उल्लेख गर्दै विज्ञापन व्यवसायमा रहेका समस्याहरूको छलफलका माध्यमबाट समाधान गर्न मन्त्रालय तयार रहेको पनि बताउनुभयो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन क्षेत्रलाई व्यवस्थित गर्न सरकारले विज्ञापन बोर्डको गठन गरेको उल्लेख गर्दै समाजलाई भ्रमित तुल्याउने खालका विज्ञापनको उत्पादनमा नियन्त्रण र निगरानीका लागि बोर्ड सचेत रहनुपर्ने बताउनुभयो ।

सचिव डा. अर्यालले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन सरकार सकारात्मक रहेकाले विज्ञापन व्यवसायीहरूलाई उत्साहित भएर काम गर्न पनि आग्रह गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विज्ञापन व्यवसाय प्रवर्द्धनका लागि पहिला उद्योग व्यवसायको प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, मिडिया सोसाइटीका अध्यक्ष भास्करराज कर्णिकार, नेपाल विज्ञापन सङ्घ (आन)का अध्यक्ष सोमनाथ धिताल लगायतका वक्ताले सृजनशील र सन्देशमूलक विज्ञापन निर्माण तथा प्रकाशन र प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button