तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस अब विधि विधान अनुसार चल्नुपर्छ : प्रदेश सभापति पुन

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस अब विधि विधान अनुसार चल्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा पुनले पार्टीलाई विधि विधान सम्मत चलाउँदै न्यायोचित निर्णय लिएर अघि बढ्न केन्द्रिय सभापति शेरबहादुर देउबालाई आग्रह गर्नुभयो । “लुम्बिनी प्रदेश कमिटीका तर्फबाट मेरो विशेष आग्रह छ, सभापतिजीले सिंगो कांग्रेसको सभापति बन्न पर्यत्न गर्नुपर्छ, सकेसम्म सबैलाई समेटेर अघि बढ्न पर्यत्न गर्नुपर्छ ।”

उहाँले भन्नुभयो-“हिजो पोखरा महाधिवेशनमा गिरिजाबाबुसंग ठूलो मतान्तरले अहिलेका सभापतिले हार्दा पनि जुन स्थान उहाँले चाहनुभयो त्यो पाउनुभयो, तर, आज किन त्यस्तो हुन सकेन ?” उहाँले थप्नुभयो-“२०/२२ भोट पाएर सभापतिमा हारेकालाई केन्द्रिय सदस्य मनोनयन गर्ने तर १५/१६ सय मत पाउने किन परेनन्, यस्तो किन भयो ?” आफूहरुले कुनै हिस्सा नमाग्ने भन्दै उनले पार्टीभित्र न्याय हुनुपर्ने बताउनुभयो । लुम्बिनीमा आफूसंग पराजित सभापतिका उम्मेदवारलाई दोस्रो बरियतामा राखेर अघि बढेको प्रसंग निकाल्दै उहाँले सभापति देउबाले पनि सबैलाई समेट्नुपर्ने बताउनुभयो ।

लुम्बिनी कांग्रेसलाई चलायमान बनाउँदै अघि बढ्न चार बर्षे कार्ययोजना बनाउँदै गरेको बताउनुभएका पुनले हिजो पार्टी कहाँ थियो र आज कहाँ छ भन्ने कुराको प्रष्ट अनुभूति हुने गरी काम गर्ने स्पष्ट पार्नुभयो । महामन्त्री विक्रम खनालको संयोजकत्वमा कार्ययोजना बनाउन शुरु गरिएको सभापति पुनले बताउनुभयो । स्थानीय चुनावमा लोकप्रिय र इमान्दार मानिसहरु पहिलो प्राथमिकतामा पर्ने बताउँदै उहाँले पार्टीमा धनबाद र डनबादको अन्त्य गर्ने दृढता व्यक्त गर्नुभयो । “हामी जे गर्छौं त्यो बोक्छौं, जे गर्न सक्दैनौं, त्यो बोक्दैनौं,” उहाँले भन्नुभयो । उहाँले लुम्बिनीमा सबल र सुदृढ कांग्रेस बनाउन अहोरात्र खटिने बताउनुभयो । 

सभापति पुनले कांग्रेसको १६ जिल्ला अधिवेशन अहिले रोक्नुपर्ने कुनै कारण नभएपनि रोकिनु गलत भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button