राष्ट्रिय सभा सदस्य निर्वाचन: उम्मेदवारी दर्ता गर्ने तयारी
धनगढी । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने तयारी सुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा उम्मेदवारी दर्ता स्थल तोकिएको छ ।
सहायक निर्वाचन अधिकारी प्रेमराज भट्टले आज बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी (मनोनयन) दर्ताको समयावधि रहेको बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी स्थानीय तहका प्रमुख तथा उप-प्रमुख र प्रदेश सभा सदस्यहरु मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशमा २ सय २७ मतदाता रहेको बत्ताइएको छ ।
यो प्रदेशमा माघ १२ गते हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेश सभा भवन (धनगढी) लाई मतदान स्थल तोकिएको छ ।राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेस, नेकपा एस र नेकपा माअाेवादी केन्द्र गरी तीन दलका तीन जनाको चार बर्से कार्यालय पूरा भएपछि माघ १२ गते निर्वाचन हुँदै छ ।
यसैबिच राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवार बिच प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट नारायणदत्त मिश्र (काँग्रेस), मदनकुमारी शाह (नेकपा एस) र जगत पार्की (माअाेवादी केन्द्र) उम्मेदवार रहेका छन् । यसैगरी नेकपा एमालेले पुराना वामपन्थी नेता डिल्लीराज भट्ट, सन्तोष कुमारी थापा शर्मा, नरेशबहादुर बिकलाई उम्मेदवार बनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा महिला, दलित, खुलातर्फ गरी तीन सदस्यका लागि निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्