तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर धरान ६ लेन सडकको ८० प्रतिशत काम सम्पन्न

विराटनगर । रानी विराटनगर, इटहरी, धरान छलेन सडकको ८० प्रतिशत काम सम्पन्न भएको छ । व्यापारीमार्गको रुपमा चिनिने विराटनगरदेखि धरानसम्मको ४९ किलोमिटर सडकमध्ये रानी विराटनगरदेखि तरहरासम्मको ४२ किलोमिटर सडकको काम अन्तिम चरणमा पुगेको छ ।

धरानको सेउतीखोला क्षेत्र तथा दुहवी बजार क्षेत्रको दुई किलोमिटर सडक बाहेक ४२ किलोमिटरको सडक आगामी चैत महिनासम्म सम्पन्न गर्नेगरि अहिले काम भइरहेको छ । १० अर्ब ९८ करोड रुपैयाँ लागत अनुमान रहेको उक्त सडकमा ६ वटा निमार्ण कम्पनीले १७ वटा प्याकेजमा काम गरिरहेको रानी विराटनगर इटहरी धरान सिक्सलेन सडक योजनाका इन्जिनियर उपेन्द्र दासले बताउनुभयो । सो सडकको सुनसरीको तरहरा बजार क्षेत्रमा एउटा प्याकेजको सम्पुर्ण काम सम्पन्न भई हस्तान्तरण समेत भइसकेको छ ।

सडक निमार्णका लागी १० वर्ष अघि ठेक्का लागेको हो । गत आर्थिक वर्ष ०७५–०७६ काम सम्पन्न गर्नुपर्नेमा तोकिएको मितिमा काम सम्पन्न हुन नसकेपछि आगामी चैतसम्मका लागि म्याद थप गरिएको हो ।

यसैविच सो मार्गको प्रदेश न १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अनुगमन गर्नुभयो । मन्त्री कार्कीसहित मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख सडक निर्माणको जिम्मा पाएका निमार्ण कम्पनीका प्रतिनिधि टोलीले सडकको संयुक्त अनुगमन गरेको हो ।

अनुगमनको क्रममा मन्त्री कार्कीले तोकिएकै मितिमा सडक निर्माणको काम सम्पन्न गर्न निमार्ण कम्पनीलाई आग्रह गर्नुभयो । लामो समयदेखि सडक निर्माणकोका काम सम्पन्न नहुँदा आवतजावतमा समस्या परेको भन्नुहुँदै दुहवी बजार क्षेत्रमा सडकको काम चाडै सुचारु गर्न पहल गर्ने बताउनुभयो ।

त्यसैगरि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आर्थिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिने उक्त सडकको निर्माणमा गुणस्तर सँगै सडकको सौन्दर्ययतामा पनि ध्यान पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुहवी बजार क्षेत्रको दुई किलोमिटर सडक विस्तारमा अदालतले मुआब्जा दिनुपर्ने निर्णय गरेका कारण काम हुन नसकेको प्रष्ट पार्नुभयो । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले बाँकी सडक खण्डको निर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । अहिले दुहवी बजार क्षेत्र तथा तरहरा उत्तर धरान जाने उक्त सडकको ५ किलोमिटर क्षेत्रमा काम हुन नसकेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button