कथा सङ्ग्रह ‘अपरिचित अनुहार’ मा समाज बोलेको छ
कर्णाली । फ्यूचर नेपालले कथा सङ्ग्रह पुस्तक ‘अपरिचित अनुहार’ माथि विमर्श कार्यक्रम गरेको छ । लेखक तथा समालोचक महेश पौड्यालद्वारा लिखित पुस्तक ‘अपरिचित अनुहार’ माथि वीरेन्द्रनगर सुर्खेतका युवामाझ आज विमर्श गरिएको हो ।
यहाँका ८१ युवाको माझमा गरिएको विमर्शमा विभिन्न कोणबाट सकरात्मक टिप्पणी भयो । सो अवसरमा साहित्यकार तथा गीतकार गोविन्द कंडेल ‘आँसु’ले साहित्यमा साधना जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपरिचित अनुहार’मा समाज बोलेको छ । सबैले एक पटक अध्ययन गर्न जरुरी छ ।”
पछिल्लो समय लेखकहरु सामाजिक सञ्जालमा भाइरल हुने प्रचलन बढेको प्रति टिप्पणी गर्दै साहित्यकार कँडेलले भन्नुभयो, “लेखकहरुले भाइरल हुने हैन, अमर हुने हो । कथा सङ्ग्रह ‘अपरिचित अनुहार’ लाई पाठकले पढ्दै जाँदा कुनै पनि व्यक्तिले राख्ने वर्तमान सोचभन्दा फरक तथ्य र विषय उजागर भएको छ ।”
मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा लेखक वासुदेव पाण्डेले किताबमा मान्छेका कथा मात्र नभएर जीवन, जगत, मनोविज्ञान, दर्शन र समाजको गतिलो चित्रण भएको टिप्पणी गर्नुभयो । कृतिले समाजको वास्तविकलाई प्रतिबिम्वित गरेको उपप्राध्यापक पाण्डेको भनाइ थियो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ तथा सामाजिक अभियान्त डा नवराज केसीले ‘पुस्तक किन पढ्ने ?’ भन्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो भने टिप्पणीकर्ता नेहा बस्नेतले ‘अपरिचित अनुहार’मा अधिकांश मनोवैज्ञानिक धारमा रहेर कथाहरु लेखिएको बताउनुभयो ।
साहित्यकार पहल असिमले ‘अपरिचित अनुहार’ सम्झिँदा आफ्नो विगतको स्मरण गराएको मनोभाव व्यक्त गर्दै प्रश्न गर्नुभयोे, “साहित्यकार तथा लेखकहरु भावुक, रुन्चे हुन्छन् भनिन्छ, अब हामी जस्तो लेख्न चाहनेहरुले के रुन्चे साहित्यबाट बाहिर निस्किएर साहित्य लेख्न सक्छौं त ?”
कथाकार पौड्यालले सरलताको खोजी नै ‘अपरिचित अनुहार’ भएको तर्क गर्नुभयो । उहाँका अनुसार कथामा कौतुहलता नहुने हो भने कथा नै हुँदैनन् । प्रेम साहित्य पढ्दै गएको व्यक्तिले ‘अपरिचित अनुहार’ पढ्ने हो भने सुकेको काठजस्तो पाउँछ । प्रेरणा कता मिल्छ पाठकले त्यसतर्फ ढल्न सक्नुपर्दछ ।
फ्यूचर नेपालका अध्यक्ष यज्ञ खत्रीले कर्णालीमा पठन संस्कृतिको विकास गर्न विमर्श कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिको युगमा पठन संस्कृति ओझेलमा पर्दैछ । मान्छेहरुमा सृजनशीलता भन्दा देखासिकी र नक्कल गर्ने संस्कार हाबी भइरहेकाले पठन संस्कृतिको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको हो । जे होस् यसबाट सबैमा नयाँ जागरण मिलेको अनुभूति गरेका छौँ ।”






प्रतिक्रिया राख्नुहोस्