तपाईँ सुन्दै हुनुहुन्छः

दरौंदीको पानी गोरखा बजारमा

गोरखा । दरौंदी नदीबाट पम्पिङ गरिएको पानी गोरखा बजार क्षेत्रमा वितरण थालनी गरिएको छ ।  दरौंदी गोरखा बृहत् लिफ्टिङ खानेपानी आयोजनाले परीक्षणका रुपमा पानी पम्प गरेर वितरण गर्न सुरु गरेको हो ।

आगामी दुई सातासम्म परीक्षणका रुपमा पानी तानेर वितरण गर्ने र त्यसपछि नियमित रुपमा ग्राहकको घरघरमा पानी पुर्‍याउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष बद्रि बहादुर मास्केले बताउनुभयो ।
गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित मुहानदेखि गोरखा दरबार माथिको उपल्लोकोटसम्म पानी तानेर वितरण गरिएको उहाँले बताउनुभयो ।  यस अघि विद्युत् अभावमा पानी वितरण गर्न कठिनाइ भएको थियो ।

करिब ४५ करोड रुपैयाँको लागतमा आयोजनाको निर्माण पूरा भएको र आयोजनाले चौबिसै घण्टा प्रति सेकेन्ड ३१ लिटर पानी तान्न सक्ने भएकाले जिल्ला सदरमुकाममा अब पानी अभावको समस्या नहुने विश्वास लिइएको छ ।

यस अघि जिल्लामा साना सहरी खानेपानी, कर्णेखोला खानेपानी लगायतका आयोजनाले बजार क्षेत्रमा पानी वितरण गर्दै आइरहेका थिए । हिउँदको समयमा गोरखा सदरमुकाममा पानीको अभाव हुँदै आएको थियो । दरौँदी पम्पिङको पानी आएपछि गोरखाबजारवासीहरु खुसी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button