२३६ वर्षपछि सम्झिँदै ‘हिलिहाङ’
पाँचथर । नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला)का अन्तिम राजा हुनुहुन्थ्यो हाङ हिलिहाङ योङहाङ । विसं १७८३ कात्तिक १८ गते तत्कालीन योङहाङ राजपरिवारमा जन्मिनुभएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हालेपछि आफ्नो राज्यलाई निकै शक्तिशाली बनाउनुभएको थियो ।
एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहको फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको इतिहास छ । तर विसं १८३१ साउन २२ गते राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुमलाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिनुभयो । तर विसं १८४२ मा उहाँको अकस्मात् मृत्युपछि याङवरक थुम पूर्णतः नेपाल मातहतमा गाभियो । यही आधारमा हिलिहाङलाई लिम्बुवानको अन्तिम राजा भन्ने गरिन्छ । पराक्रमी राजा हिलिहाङ निधनपछि उहाँको दरबार र राज्यसत्ता करिब ‘तहस–नहस’ बन्यो । हिलिहाङ दरबार क्षेत्र त अहिले भग्नावशेष मात्रै छ ।
राजा हिलिहाङलाई बिर्सिइँदै गएको अवस्थामा पहिलो पटक बिहीबार उहाँको जन्मोत्सव मनाइएको छ । राजा हिलिहाङ दिवङ्गत भएको २३६ वर्षपछि उहाँको २९५औँ जन्मजयन्ती मनाइएको हो । २९५औँ जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो । राजा हिलिहाङको जन्मोत्सवका अवसरमा उक्त क्षेत्रमा स्थापित प्रतिमामा माल्यार्पण गरिनुका साथै उहाँको योगदानको चर्चा गरिएको छ । हिलिहाङको योगदानकै कारण एकीकरण अभियान सफल भएको र नेपालको अहिलेको स्वरूप कायम भएको जनाउँदै जन्मजयन्तीका अवसरमा राजा हिलिहाङको जन्मोत्सवलाई पर्वका रूपमा मनाउन तथा राष्ट्रिय विभूति घोषणा गर्न यहाँका सरोकारवालाले मागसमेत गरेका छन् ।
हिलिहाङ गाउँपालिका र हिलिहाङ फाउण्डेशनले विगत पाँच वर्षदेखि भग्नावशेषमा परिणत दरबार क्षेत्रको संरक्षण, इतिहासको खोजी तथा उहाँको पहिचान झल्कने संरचना निर्माण गर्दै आएका छन् । यस क्रममा दरबार क्षेत्रमा राजा हिलिहाङको शालिक निर्माण गरिएको छ भने मेची राजमार्गबाट दरबार क्षेत्र प्रवेश गर्ने स्थानमा प्रवेशद्वार र सोको माथि शालिक निर्माण अन्तिम चरणमा पुगेको छ । राजा हिलिहाङले नेपाल एकीकरणमा गर्नुभएको योगदानको सम्मान गर्दै उहाँकै नामबाट पाँचथरको साबिकका चार वटा गाउँ विकास समिति भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई मिलाई हिलिहाङ गाउँपालिका नामाकरण गरिएपछि हिलिहाङबारे थप खोजी र चर्चा हुन थालेको हो ।
हिलिहाङको २९५औँ जन्मजयन्तीका अवसरमा बिहीबार दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उहाँका शालिकमा माल्यार्पण गरिएको थियो । यस्तै दरबार क्षेत्रमै रहेको उहाँले शक्तिप्राप्त गर्ने शक्तिपीठमा पूजा अर्चना र दर्शन गरिएको थियो । हिलिहाङ गाउँपालिकाले प्यागोडा शैलीमा निर्माण गर्न लागेको हिलिहाङ दरबार निर्माण कार्यको हिलिहाङको २९५औँ जन्मजयन्तीकै अवसर पूर्वमन्त्री एवं सांसद वसन्तकुमार नेम्वाङले शिलान्याससमेत गर्नुभयो ।
हिलिहाङ फाउण्डेशनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार इतिहासमा पहिलो पटक राजा हिलिहाङको जन्मोत्सव मनाइएको हो । “जङ्गलमा छोडिएको झण्डै अढाई सय वर्ष पुरानो विषय क्रमशः उजागर हुँदै गएको छ”, उहाँले भन्नुभयो, “राज्यले चिनेको एक मात्रै दरबार हिलिहाङ दरबार र लिम्बुवानका अन्तिम राजा हिलिहाङ रहेकाले उहाँको योगदानलाई संस्थागत रूपमा सम्मान गर्न जन्मोत्सव मनाउन थालेका हौँ ।” राजा हिलिहाङको सहजीकरणले मात्रै नेपाल एकीकरणले सार्थकता पाई नेपालले अहिलेको स्वरूप ग्रहण गरेकाले उहाँलाई राज्यले चिन्नुपर्ने तथा सम्मान गर्नुपर्ने योङहाङको माग छ ।
दरबार निर्माणको शिलान्यास गर्दै सांसद नेम्वाङले नेपाल एकीकरण अभियानसँग हारजित नभएको अवस्थामा राजा हिलिहाङले नेपाल एकीकरणलाई सार्थकता दिन महत्त्वपूर्ण योगदान पु¥याएको स्मरण गर्दै उहाँको जन्मोत्सवले राष्ट्रिय एकता संवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । “राजा हिलिहाङ र उहाँले नेपालको वर्तमान स्वरूप निर्माणमा गर्नुभएको योगदानको सम्मानले हाम्रो राष्ट्रिय एकता झनै बलियो हुन्छ”, उहाँले भन्नुभयो । धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवर्द्धन गरी स्थानीयवासीको आयआर्जन अभिवृद्धि गर्न सकिने संसारभरिको प्रचलनका आधारमा अगाडि बढ्दै हिलिहाङ क्षेत्रको विकासमा सबैले हातेमाले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “इतिहासमा सीमित हुन लागेको हिलिहाङ दरबार क्षेत्रलाई पुरातात्त्विक सम्पदा तथा पर्यटकीय गन्तव्य बनाउन मेरै पहलमा पुरातत्त्व विभागले उत्खनन गरेपछि यस क्षेत्रमा सरकारको नजर परेको हो”, उहाँले भन्नुभयो, “अब यस क्षेत्रको विकासले बाटो समातेको छ, त्यो रोकिनु हुँदैन ।”
कार्यक्रममा तत्कालीन लिम्बुवान क्षेत्रका खोजकर्ता प्रा डा नारायण सङ्ग्रौला राजा हिलिहाङको जन्मजयन्ती मनाउने र उहाँलाई सम्मान गर्ने कार्यले नेपालको विविधतामाथिको एकताको संवर्द्धन हुने बताउनुहुन्छ । “इतिहासमा सीमित भएका सबै विषयमा खोज गर्ने, पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने र परम्परागत शैलीमा संरचना निर्माण गर्ने कार्यले इतिहासको जगेर्ना, पर्यटन प्रवर्द्धन र राष्ट्रिय एकताको विकासमा सहयोग गर्छ”, उहाँले भन्नुभयो ।
विसं १७८३ कात्तिक १८ गते तत्कालीन योङहाङ राजपरिवारमा जन्मिनुभएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हाल्नुभएको इतिहास छ । नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटक लडाइँ गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते सम्झौता (लालमोहर) भएको थियो । हिलिहाङकी एक चेलीको विवाह तत्कालीन सिक्किमका राजासँग भएको थियो । जसकारण याङवरक थुमलाई लडाइँमा सिक्किमले सहयोग गर्दथ्यो ।
नेपाल एकीकरणका क्रममा लामो समयसम्म युद्ध भएर कुनै पक्ष नहारेको अवस्थामा दुवै पक्षबाट दूरदर्शिता देखाई अन्त्यमा सन्धि (सम्झौता) भएको इतिहासमा भेट्न सकिन्छ । लडाइँ र सङ्घर्षका बीचमा राजा पृथ्वीनारायण शाह र हिलिहाङ राजाबीच औपचारिक अनौपचारिक धेरै सन्धि (सम्झौता) भएका थिए । सम्झौतामध्ये सबैभन्दा बढी चर्चित विसं १८१४, १८३१ र १८४२ मा भएका सन्धि थिए । सन्धिअनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने तथा राजाहरुबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो । शाहहरू र योङहाङहरु राजखान्दानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका तयार पारिएको इतिहासमा भेट्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्