हराउँदै गएको छ मादल बजाउने संस्कृति

पोखरा । पोखराको तेर्सा पट्टिमा सुनिल नेपालीले मादलको व्यवसाय गर्दै आएको झण्डै २५ बर्ष भयो । उहाँ सँग साढे दुई दशकको मादल, खजैरी लगायतका वाद्यवादनका सामाग्रीहरू बनाउने अनुभव पनि छ । केही बर्ष अगाडि मादल बेचेर लाखौँ लाख कमाउन सफल हुनुभएका उहाँ अहिले भने मादल बिक्री नै हुन छोडेपछि व्यवसाय नै छाड्ने अवस्थामा पुग्नु भएको छ ।
विशेष गरी मादल तिहारमा देउसी भैलो खेल्न र अन्य समयमा सांस्कृतिक कार्यक्रमका लागि प्रयोग गर्ने गरिन्छ । मादलको धुनले सबैलाई छुट्टै रौनक थपेको हुन्छ । तिहारको समयमा बढी बिक्री हुने मादल हिजो आज भने बजारमा पेन ड्राइभ, ब्लुटुथ स्पिकर लगायतका आधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको छ ।
विगतका बर्सहरूमा एक महिनामा ३०० भन्दा बढी मादल बिक्री गर्ने गर्नुभएका पोखराका किरण कुलु पछिल्लो समय सिजनमा ३० देखि ४० वटा मादल पनि बेच्न धौधौ हुन थालेपछि आफ्नो मुख्य पेशा नै यही भएको र यसरी चाडपर्वको समयमा पनि मादलको माग घट्दै जाँदा आफूहरूको पेशा धरापमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
मादलको व्यापार घट्नुको प्रमुख कारण एकातिर यसको प्रयोग नै घटेको देखिन्छ भने अर्को तिर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पनि हो । विगत दुई बर्ष अघि देखि फैलिएको कोरोना भाईरस अझै पनि हट्न नसक्दा प्रशासनले देउसी भैलो जस्ता अन्य सांस्कृतिक कार्यक्रममा पनि रोक लगाएको छ । जसले मेला, बजार र देउसी भैलोमा मादल बजाउने क्रम घटेको छ ।
मादल बनाउनका लागि लाम्पाते, पटमेरो, गिठ्ठे, सिरिस, उत्तिसजस्ता रुखको काठ प्रयोग गर्ने गरिन्छ भने गोरु र बाख्राको छाला पनि प्रयोग गरिन्छ । एउटा मादल तयार हुन लागि ३ दिनदेखि एक साता लाग्ने गर्छ ।
राष्ट्र कवि माधव प्रसाद घिमिरेको कवितामा भने जस्तै नाच्नलाई ताल दिने मादल हो । त्यो हाम्रो राष्ट्रियता र संस्कृतिको पहिचान हो । त्यो मादलको तालमा नेपालीहरू जुर्मुराउँछन् तर त्यही मादल रहेन भने बैँसको तालमा नाच्नै सकिन्न । पछिल्लो समय मादल व्यवसाय घट्दै जानुले मादल व्यवसायीहरूको रोजीरोटी नै गुम्ने तथा पुरानो संस्कृति र परम्परासँग जोडिएको मादलका सङ्गीतलाई जोगाइरहन पनि समस्या देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्