तपाईँ सुन्दै हुनुहुन्छः

हाइकिङका माध्यमबाट पन्ध्रौँ शताब्दीको नुवाकोट दरबारको प्रवर्द्धन

गण्डकी। पन्ध्रौँ शताब्दीको इतिहासको साक्षी स्याङ्जाको नुवाकोट दरबार एवं कालभैरव मन्दिरको हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिएको छ ।हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको हाइकिङको २० औँ शृङ्खलाअन्तर्गत हाइकर्स टोली यस पटक स्याङ्जाको फेदी खोला गाउँपालिका–२ नुवाकोटस्थित ऐतिहासिक स्थल कालभैरव मन्दिर तथा नुवाकोट दरबार पुगेको हो । पर्यटकीय नगरी पोखरा नजिकैको ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थलमध्येको एक स्याङ्जा नुवाकोटस्थित सो मन्दिर र नुवाकोट दरबारको ऐतिहासिकतालाई उजागर गर्ने लक्ष्यका साथ २० औँ शृङ्खला यस स्थानमा गरिएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो ।

स्वास्थ्य पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ विगत दुई वर्षदेखि नियमितरुपमा सहभागीको व्यक्तिगत खर्चमा सम्भावना रहेर पनि ओझेलमा परेका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै आइएको बताउँदै उहाँले सो मन्दिर क्षेत्रको प्रवर्द्धन र विकासमा राज्यले नै चासो दिनुपर्ने देखिएको बताउनुभयो ।

इतिहासअनुसार पन्ध्रौँ शताब्दीको प्रारम्भतिर विसं १५१० मा मिन्चाखान (वास्तविक नाम अजय खान)ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए । तत्कालीन समयदेखि नै एउटा महत्त्वपूर्ण शक्ति पीठका रुपमा यहाँ स्थित कालाभैरवको पूजा अर्चना गर्दै आइएको पाइन्छ । ‘नुवाकोट राज्य’ स्याङ्जा जिल्लाको उत्तरी भेगमा सदरमुकामबाट करिब १५ किमी उत्तर समुद्री सतहबाट करिब एक हजार ९०० मिटरको उचाइमा अवस्थित छ ।

तत्कालीन राज्यको शिरमा रहेको कालाभैरवलाई श्रद्धाभक्तिका साथ त्यही समयदेखि नै पूजाआजा गर्दै आइएको छ । किंवदन्तीअनुसार कालभैरव आफैँ उत्पत्ति भएका हुन् । पहिला ढुङ्गा, माटोको ढिस्कोमा कालभैरवको पूजा गरिन्थ्यो । विसं २०६८ अघिसम्म सानो पानीको ट्याङ्कीजस्तो मन्दिर बनाएर त्यसमा पूजा गर्ने गरिएकामा त्यसयता भने व्यवस्थित मन्दिर निर्माण गरी पूजाआजाको व्यवस्था मिलाइएको छ ।

तत्कालीन शासकले १५औँ शताब्दीतिर कालाभैरवका साथै सुनकेशरी देवी, कालिका र चण्डीकादेवीको मूर्ति स्थापना गरी पूजाआजा गरेको इतिहासमा उल्लेख छ । कालाभैरवको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका आधारमा स्याङ्जा र कास्की जिल्लाका साथै विभिन्न स्थानबाट भाकलसहित पूजाआजा गर्न आउने गरेका छन् । यहाँ स्थित कालाभैरवको मूर्ति (शिला) प्राचीनकालदेखि छोपेर राखिएको छ ।

उक्त शिलालाई हेर्न हुँदैन भन्ने जनविश्वास रहेको र वर्षको एक पटक प्रत्येक आश्विन शुक्ल अष्टमीको मध्यरात (कालरात्रि) मा पण्डितले आँखामा पट्टी बाँधेर भैरव शिलालाई सफा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् । इतिहासमा उल्लेख भएअनुसार तत्कालीन स्याङ्जा नुवाकोट राज्यको सिमाना पूर्वमा कृस्ति, निर्मलपोखरी, भरतपोखरी, कास्कीकोटसम्म, पश्चिममा पर्वतको लिमीथाना, देउपुर, बाजुङ, दुर्लुङ, उत्तरमा कास्कीको केही भाग र दक्षिणमा सतौँ, गह्रौँ, भिरकोटसम्म फैलिएको थियो ।

तत्कालीन स्याङ्जा नुवाकोट राज्यको महत्त्वपूर्ण शक्तिपीठ रहेका कारण तत्कालीन समयदेखि नै यस धार्मिक स्थलमा विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको सहजै अनुमान गर्न सकिन्छ । हाइकिङका माध्यमबाट हाइकर्स क्लबको समूहले यस क्षेत्रको प्रवर्द्धनात्मक भ्रमण गरिनुले यहाँको सम्भावनालाई थप उजागर गरेको फेदी खोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । हाइकर्स क्लबका तर्फबाट ग्रामीण पर्यटनको प्रवर्द्धनमा उल्लेख्य योगदान भएको उल्लेख गर्दै उहाँले लुकेका सम्भावनायुक्त स्थललाई प्रवर्द्धनका माध्यमबाट नै उजागर गर्न सकिने बताउनुभयो ।

बृहत् फेदी खोला पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर क्षेत्री, फेदी खोला वडा नं १ रामकोटस्थित रामकोट सामुदायिक होमस्टेका अध्यक्ष तथा फेदी खोला पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष अविलास गुरुङले हाइकिङमा नुवाकोट दरबार एवं कालभैरव मन्दिर समेटिनुले यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व पर्यटन बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हाइकिङका सहभागी पत्रकार मनोज घर्तीमगर, युवा व्यवसायी प्रितम सेन, टीका आचार्य, रविन शाही, मोहन खत्रीलगायतले नुवाकोट दरबारजस्ता ऐतिहासिक स्थल अझै पनि प्रवद्र्धनको पर्खाइमा रहेको बताउँदै पोखरा आसपासका यी गन्तव्यको प्रवर्द्धन एवं पूर्वाधार विकास गर्नसके अधिकतम पर्यटक पु¥याउन सकिने धारणा राख्नुभयो । उक्त अवसरमा हाइकिङका सहभागीले स्याङ्जाको पुरानो सदरमुकाम नुवाकोट, शाहवंशका आदिपुरुष मिन्चा खानको दरबारको भग्नावशेष, कालभैरव मन्दिर, कालिका मन्दिर तथा निर्माणाधीन भ्यु टावरको अवलोकन एवं स्थानीयसँग जानकारी लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button