तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीय निजामती सेवा विधेयक–२०७५’ प्रतिनिधिसभाबाट फिर्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट “सङ्घीय निजामती सेवा विधेयक, २०७५” फिर्ता भएको छ ।

प्रधानमन्त्री एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “सङ्घीय निजामती सेवा विधेयक, २०७५” फिर्ता लिन गर्नुभएको प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको हो ।

विधेयक फिर्ता गर्ने प्रस्तावको विरुद्धमा उठेका विषयमा जवाफ दिँदै मन्त्री कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् बिस्तारमा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको बताउनुभयो ।

फिर्ता लिने प्रस्तावको विपक्षमा मत राख्दै सांसद प्रेम सुवालले संसद्मा आइसकेको विधेयक फिर्ता हुनु उचित नभएको र प्रजातन्त्र विरोधी कार्य भएको भन्दै त्यसको विरोध गर्नुभयो ।

सांसद प्रेम सुवालको विरोधको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको छ । 

यस्तै बैठकले प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री देउवाको तर्फबाट कानुन मन्त्री कार्कीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको “रेल्वे विधेयक, २०७६” फिर्ता लिन राष्ट्रियसभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा पनि रोष्टम घेराउ गर्दै नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ ।  

प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button