रणनीतिमा स्पष्टता नभएकाले पुँजीगत बजेट खर्च हुन सकेनः अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकास रणनीतिमा स्पष्टता नभएकाले पुँजीगत बजेट खर्च हुन नसकेको बताउनुभएको छ ।
मङ्गलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै अर्थमन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा नै समस्या रहेकोले त्यसलाई स्पष्ट पार्नु आवश्यक भएको बताउनुभयो ।
कसरी चालु खर्च घटाउने र पुँजीगत खर्च बजेट बढाउने भन्ने विषय सरकारका लागि चुनौतीको रुपमा रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले सरकार बदलिँदा र मन्त्री बदलिँदा रणनीति तथा प्राथमिकता नै बदलिने गरेकाले विकास योजनाहरूको कार्यान्वयनमा समस्या हुने गरेको बताउनुभयो ।
योजना नेतामुखी र मन्त्रीमुखी हुँदा त्यसले समयमा लक्ष्य प्राप्त गर्न नसकेको समेत अर्थमन्त्री शर्माले बताउनु भयो ।
अर्थमन्त्री शर्माले मन्त्रालयलाई अर्थ मन्त्रालयले दिनुपर्ने अधिकार दिन कन्जुस्याइँ गर्ने, मन्त्रालयले प्रोजेक्ट प्रमुखलाई दिनुपर्ने अधिकारमा कन्जुस्याइँ गर्ने र परियोजना प्रमुखले योजना सफल पार्नका लागि फिल्डमै बसेर आवश्यकता अनुसारको काम गर्ने अधिकार दिएर नपठाउने गर्नाले विकास आयोजनाहरूको काम प्रभावकारी हुन नसकेको पनि अर्थमन्त्री शर्माले औँल्याउनुभयो ।
अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य अनुसार नीति बनाउन लागेको र खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफूले प्रयास गरिरहेको बताउनुभयो ।
राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुल्ला गर्नुपर्ने र त्यसरी खुल्ला गर्दा वास्तविक लगानीकर्ता चिनेर उनीहरूलाई आकर्षित गर्ने स्पष्ट खाका आवश्यक भएकोमा पनि उहाँको जोड दिनुभयो ।
अर्थमन्त्री शर्माले हामी सबैको ध्यान राष्ट्र निर्माण गर्नु भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित रहेकोले राष्ट्र विकसित बन्न नसकेको बताउनुभयो ।
त्रिभुवन विश्व विद्यालयलाई अनुसन्धानमा केन्द्रित गरेर अघि बढाउनु आवश्यक भएकोमा जोड दिँदै अर्थमन्त्री सरकारले नै कुने ठूलो विकास योजनामा विदेशी लगानी ल्याएर देखाउन सके निजी क्षेत्रबाट पनि लगानी बढ्ने बताउनुभयो ।
हाल ४ सय मेगावाट विद्युत् खेर जाने अवस्था रहेकोले सबै क्षेत्र मिलेर विद्युतको खपत बढाउनु पर्नेमा पनि अर्थमन्त्रीले जोड दिनुभयो ।
कार्यक्रममा प्रा.डा पुष्पराज कँडेल, डा गोविन्द पोखरेल, प्रा.डा विश्वभर प्याकुरेल, पूर्व सचिव कृष्णहरि बास्कोटा लगायतले प्रभावकारी लगानीको वातावरण निर्माण गरी नेपालमा वैदेशिक लगानीको माध्यमबाट विकासका कार्यक्रम सञ्चालन गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।
उहाँहरूले नेपालमा दक्ष जनशक्तिको विकास,आन्तरिक क्षमताको विकास र विगतका विकास, पुँजीगत खर्च र लगानी सम्बन्धी समस्या समाधान गरेर अघि बढ्नु आवश्यक भएकोमा जोड दिनुभयो ।
उहाँहरूले मुलुकको पुँजीगत खर्च कमजोर हुँदै गएको र भएको खर्चबाट पनि मुलुकको कुल ग्राहस्थ उत्पादनमा हुने योगदान घटेर गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा शिवराज अधिकारी तथा डा. रमेशचन्द्र पौडेलले ‘सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ सम्बन्धी विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्