छानबिन समितिद्वारा प्रतिवेदन पेश

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्षले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याएको र पदीय आचरण विपरीत काम कारबाही गरेको सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ समितिले आज आफ्नो प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरेको छ ।
पूर्व न्यायाधीश अनन्तराम डुम्रेको अध्यक्षता गठित समितिले तयार पारेको प्रतिवेदन अध्यक्ष डुम्रेले अर्थमन्त्री जर्नादन शर्मालाई अर्थ मन्त्रालयमा बुझाउनुभएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार १५ दिनको समय दिएर गठित जाँचबुझ समितिले सम्बद्ध पक्षसँग बयान लिने, लिखित धारणा लिने र आवश्यक कागजातको अध्ययन गर्ने गरी तयार पारेको जाँचबुझ प्रतिवेदन बुझाएको हो ।
सरकारले गत भदौ १६ गते उच्च अदालत पाटनका पूर्व न्यायाधीश अनन्तराम डुम्रेको अध्यक्षतामा नेपाल धितोपत्र बोर्डका अध्यक्षले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याएको र पदीय आचरण विपरीत काम कारबाही गरेको सम्बन्धमा छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो ।
प्रतिवेदन ग्रहण गर्नुहुँदै अर्थमन्त्री जर्नादन शर्माले प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गर्ने बताउनुभयो ।
उहाँले अध्ययन गरेर प्रतिवेदनको कार्यान्वयन प्रक्रिया अघि बढाउने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री शर्माले प्रतिवेदनले नेपालको धितोपत्र तथा शेयर बजारमा देखिएका समस्या समाधान तथा व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्