सुर्खेतमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन

खाद्य व्यवस्थाले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज १ गतेदेखि सुर्खेतसहित देशका ४३ स्थानमा सञ्चालनमा ल्याएको हो ।
आजदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा तीन किसिमका चामलसहित ३ प्रकारका दाल विक्रीका लागि राखिएका छन् ।
सुर्खेतमा चामल अरुवा मोटा चामल–४१ रुपैयाँ किलो, जिरा मसिनो चामल–५९ रुपैयाँ किलो, सोना चामल ४४.७० रुपैयाँ किलो, दाल मुसुरो १३० रुपैयाँ, मास १५९ रुपैयाँ, रहर (अडहर) १७३ रुपैयाँमा उपलब्ध गराइएको छ ।
सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले स्थानीय जनताको मागलाई ध्यानमा राख्दै शुक्रवारदेखि चामल र दाल बिक्रीका लागि उपलब्ध गराइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कम्पनीले यस वर्ष चामल, दालमा प्रति किलो रु ५ छुट दिएको छ ।
कम्पनीले ल्याएको सुपथ मूल्य पसलबाट बजारमा रहेको कृत्रिम अभावलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने उपभोक्ताकर्मीहरू बताउँछन् ।
राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेत जिल्ला प्रतिनिधि कुमारी भुसालले खाद्य व्यवस्था कम्पनीले चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएर उपभोक्तालाई राहत दिएको बताउनुभयो ।

उहाँले सुर्खेतमा चामल र दाल मात्र होइन चाडपर्वमा चाहिने खाने तेल, पिठो, चिउरा, सिमी लगायतका खाद्यान्न समेत उपलब्ध गराउन खाद्य व्यवस्था कम्पनीलाई आग्रह गर्नुभयो ।
यता साल्ट टे«डिङ कर्पोरेशन शाखा सुर्खेतले भने यस वर्ष कोरोना महामारी लगायतका कारणले असोज ५ गते देखि मात्र चाडपर्व लक्षित सहुलियत मूल्यको नुन मात्र विक्री वितरण गरिने जनाएको छ ।
सुर्खेत शाखाका प्रमुख पारशमणिनाथ प्रसाद चौधरीले साल्ट टे«डिङ कर्पोरेशनमै चिनी अभाव हुँदा सुर्खेतमा यस वर्ष सहुलियत मूल्यको चिनी तत्काल उपलब्ध गराउन नसकिने बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष पनि प्रति किलो २० मूल्यको नुनमा २ रुपैयाँ छुटको व्यवस्था मिलाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्