लोकतान्त्रिक मूल्य मान्यताका लागि मैदानबाट लडिरहन्छु : नेता पौडेल

काठमाडौँ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आज चाबहिलमा आयोजना गरेको १४औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक कार्यक्रममा उहाँले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्नुहुँदा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराउनुभयो ।
“नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ”, पौडेलले भन्नुभयो ।
पार्टीलाई अझै लोकतान्त्रीकरण अभियानमा आफू लागेको उल्लेख गर्नुहुँदै उहाँले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउनुभयो । पार्टीको १४औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको आरोप उहाँले लगाउनुभयो ।
आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रूपान्तरण गर्न नेता, कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने नेता पौडेलले बताउनुभयो । कार्यक्रममा सिन्धुपाल्चोक काँग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेता देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४औँ महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्