‘लगानी भित्र्याउने उपयुक्त वातावरण निर्माण गर्न सरकार तयार’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक लगानी भित्र्याउने उपयुक्त वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित लगानी बोर्डको दशौँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान समेत गर्नुभयो ।
नेपालले लिएको दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुहुँदै लगानी बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले वैदेशिक लगानीको पहिचान र खोजी गरी नेपालमा लगानी गर्न सकिने बताउनुभयो । लगानी सम्मेलन मार्फत प्रत्यक्ष लगानीको पहिचान गरेर नेपाल भित्र्याउन सकिनेमा आफू आशावादी रहेको उल्लेख गर्नुहुँदै उहाँले सरकारी निकाय, निजी क्षेत्र लगायतको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
ठूला र महत्त्वपूर्ण राष्ट्रिय परियोजना पनि सार्वजनिक, निजी साझेदारीमा अघि बढाउनुपर्ने महसुस सरकारले गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय हुने बताउनुभयो ।
नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले त्यसका लागि नेपालले दिगो विकास लक्ष्यको अवधारणालाई पूर्ण रुपमा पालना गरेर अघि बढिरहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकको विकासका लागि निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्ने र त्यसका लागि लगानी सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बन्दै गएको र आवश्यक वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले लगानीका दृष्टिकोणले पहिलो दशकमा महत्त्वपूर्ण आधार तयार भएको जानकारी दिँदै अबको १० वर्षमा अपेक्षा पूरा गर्ने स्तरको लगानी गर्न आवश्यक हुने उल्लेख गर्नुभयो ।
पर्याप्त लगानी भई नसकेको सन्दर्भमा समीक्षासहित समस्या पहिचान गरी लगानीको वातावरण बनाउनुपर्नेमा अर्थमन्त्री शर्माले जोड दिनुभयो ।
व्यापार घाटा कम गर्दै मुलुकमा समृद्धि हासिल गर्ने सन्दर्भमा आन्तरिक पूँजी मात्र पर्याप्त नहुने भएकोले वैदेशिक लगानी भित्र्याउन प्रयास गरेको र त्यस क्रममा निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिरहेको अर्थमन्त्रीले बताउनुभयो ।
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले नेपालको विकासका लागि महत्त्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै अहिलेसम्म नेपालमा जम्मा एक हजार ३०० सय ८३ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको बताउनुभयो ।
उर्जामन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र आगामी तीन, पाँच र १० वर्षभित्र क्रमशः तीन, पाँच हुँदै १५ हजार मेगावाटसम्मको विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उहाँको भनाइ थियो ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढावा दिइरहेको जानकारी गराउँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्