तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको चुनावी चहलपहल तीव्र

डोटी । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।

लामो समयदेखि जिल्ला बाहिर रहेका काँग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ । पार्टीको महाधिवेशनको मिति पटक पटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा सबै ढुक्क भएको महाधिवेशन प्रतिनिधि तथा जोरायल गाउँपालिकाका स्थानीयवासी दीपककुमार विष्टले जानकारी दिनुभयो ।

पार्टीले यही भदौ १८ गते वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासी तातेको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरप्रमुख तथा कांग्रेस नेता घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन हुँदैन कि भन्ने कुराले कार्यकर्तामा निरासा थियो, अब हुने निश्चित भएपछि नेताहरू पनि जिल्ला आएका छन्, चहलपहल पनि बढेको छ भने कार्यकर्तामा खुसीयाली छाएको छ ।”

वडाको अधिवेशन आउन अब चार दिन बाँकी रहेको हुनाले पनि जिल्लामा हतार हतारमा भेला र छलफल हुन थालेको कांग्रेस युवा नेता तथा केआइसिंह गाउँपालिकाका स्थानीयवासी पदम रावलले बताउनुभयो । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, राजपुरलगायतका ठाउँमा अहिले प्रायः काँग्रेस नेता तथा कार्यकर्ता मात्रै देखिने गरेका छन् ।

जिल्ला पार्टी सभापति प्रदीपकुमार देउवाले वडा समितिको बैठक डाकेर महाधिवेशनको तयारी सुरु भएको जानकारी गराउनु भएसँगै कांग्रेस अधिवेशनले चर्चा पाएको हो । पछिल्लो समय यहाँका नौ वटै स्थानीय तहमा रहेका कांग्रेस नेताहरूले आगामी महाधिवेशनका बारेमा क्रियाशील सदस्यबिच छलफल गर्न सुरु गरेका छन् । वडा अधिवेशनका लागि मात्रै भए पनि जिल्लामा खासै देखा नपर्ने नेताहरू अहिले जिल्लामा आएका शिखर नगरपालिका–१ का दीपकबहादुर बोगटीले जानकारी दिनुभयो ।

जिल्लाका नौ वटै स्थानीय तहका सबै वडामा काँग्रेसको महाधिवेशनको तयारी सुरु भएको पार्टीका पूर्व सभापति वीरबहादुर बलायरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहका गाउँ कमिटीमा सहमति गरेरै नेतृत्व चयन गरिने योजना रहेको छ । वडागत रूपमा छानिने पदाधिकारी र जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्नेबारेमा अहिले यहाँका गाउँमा छलफल सुरु भएको नेविसङ्घका पूर्व अध्यक्ष तथा युवा नेता सोपानसिंह बोहराले बताउनुभयो ।

कांग्रेस महाधिवेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारीसमेत तोकिसकेको छ । केन्द्रले निर्वाचनका लागि पठाएका आवश्यक कागजात तथा सामग्री जिल्लामा आउँदै गरेको पार्टी कार्यालयले जनाएको छ । काँग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्नेबारेमा गाउँदेखि जिल्ला सदरमुकाममा अहिले निकै चर्चा परिचर्चा सुरु भएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button