तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु

भद्रपुर, झापा । मापासे गरी चलाएको मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ निवासी २३ वर्षीया दीक्षा प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार मेची राजमार्गको चारआली–केचना सडक अन्तरगत भद्रपुर–९ स्थित लक्ष्मी चोकमा हिजो बुधवार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदल यात्री दीक्षालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो । दमक पुर्‍याउनासाथ उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

मोटरसाइकल चालक मेचीनगर नगरपालिका– १३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button