तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनमा १०७ पर्यटक हुम्लामा

सिमकोट । जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बिच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पर्यटक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १०७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पर्यटक जिल्ला पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।

दुई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका कोरोना सङ्क्रमणको त्रासका कारण बन्द गरेको भए पनि नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागी गुरु सदगुरुसहित विभिन्न देशका पर्यटक जिल्ला आउन थालेका छन् । दुई वर्षदेखि होटेल व्यवसाय सुनसान रहँदा पछिल्लो पटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटेल व्यवसायीमा आशा पलाएको छ । रु एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएका होटेल व्यवसाय ओरालो लागेका बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटक आउन थालेपछि व्यवसायले पुनः जीवन पाउने आशामा व्यवसायी खुसी भएका छन् ।

पर्यटन व्यवसायी याङ्की लामाले कोरोना महामारीले हिल्सा नाका बन्द हुँदा पहिलो पटक सदगुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेपछि होटेल व्यवसायीमा आशा पलाएको बताउनुभयो । दुई सिजनसम्म बन्द भएका होटेल अब सञ्चालनमा आउने बाटो खुलेको जनाउँदै उहाँले अब व्यवसायीमा उत्साह छाउन थालेकोमा खुसी व्यक्त गर्नुभयो ।

सदगुरुसहितको टोली हुम्लाबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि १०७ जना काठमाडौँबाट हेलिकोप्टरमार्फत सिधै सिमकोट आइपुगेका छन् । ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाइड र आवश्यक सामग्री सबै आइपुगेका छन् । टोली हुम्ला पुगेपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बजारमा बिक्री बढेको छ ।

उहाँले हुम्ला पुगेका टोलीले कोरोनाका कारण होटेलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित तल्लो बजारमा रहेको खेलमैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको बताउनुभयो । पालमा सदगुरुसहितका सबै टोली एक रात बस्नेछन् । यता स्थानीय २५ भरिया पनि तयार गरिएको छ । कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उहाँहरूले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नु पर्नेछ ।

पर्यटन व्यवसायी विजय लामाका अनुसार गुरु एक रात सिमकोटमा बस्ने र बिहीबार बिहान मात्र पैदल मार्गबाट लाप्चातर्फ लाग्नु हुनेछ । सदगुरुसँग १२ जना भारतीयलगायत १० देशका तीर्थलु सहभागी रहनेछन् । टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडाको समेत व्यवस्था गरिएको छ । सदगुरुले प्रयोग गर्ने मोटरसाइलसमेत मङ्गलबार सिमकोट आइपुगेको छ । उक्त मोटरसाइकल हवाईजहाजमार्फत सिमकोट पु¥याइएको हो ।

होटेल व्यवसायीमा आशा पलायो

दुई वर्ष अगाडिसम्म सिमकोटमा पर्यटक लक्षित गरेर स्थापना भएका १३ वटा होटेललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको सम्झँदै होटेल सङ्घका अध्यक्ष मिम लामाले कोरोनाको अवधिमा सुस्ताएका यी होटेल अब पुनः पर्यटकको आगमन सुरु भएसँगै उत्साहित भएको बताउनुभयो ।

हिन्दूहरूका चर्चित सदगुरु आउने र पैदल मार्गबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शनका साथै पूजापाठ पनि गर्ने भएका कारण यसको सकारात्मक सन्देश जाने विश्वास पर्यटन तथा होटेल व्यवसायीले गरेका छन् । आगामी असोजसम्म लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएका कारण भारतबाट धेरै धार्मिक पर्यटकले सम्पर्क गरिरहेको पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । अब कोरोना त्रासका कम पर्यटक भित्रिने सङ्ख्या ह्वात्तै बढ्ने र यसबाट शिथिल भएको होटेल व्यवसाय पुरानै लयमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button