पर्वतमा मकै जोन हट्यो, धान जोन बिस्तार
पर्वत । पर्वतमा मकै खेती प्रवर्द्धनका लागि सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन हटेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा फलेवास नगरपालिकाका ६ वडा समेटेर सञ्चालन भएको मकै जोन कार्यक्रम फेज आउट भएको हो ।
मकै जोनको क्षेत्र फलेवास बाहेक महाशिला गाउँपालिका र विहादी गाउँपालिकामा विस्तार गरिएको थियो ।
५ वर्ष अवधि रहने उक्त परियोजनाले तोकिएको समय सकिएपछि जोन क्षेत्र हटाएको हो ।
जोनमा समेटिएको क्षेत्रका किसानलाई परियोजनाले अनुदान, कृषि प्रविधि, तालिम तथा प्रशोधनका लागि सहयोग गर्दै आएको थियो ।
मकै जोन कार्यक्रम हटे पनि पर्वतमा धान जोन विस्तार भएको छ भने चालु वर्ष तरकारी जोनको कार्यक्रम तर्जुमा भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालयका कृषि प्राविधिक अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो ।
पर्वतको फलेवास नगरपालिका ४, ६, १० र ११ मा धान जोन सञ्चालनमा रहेको छ । यस वर्ष विहादी १, २, ३, ४ र ६ तथा पैयुँको सबै ६ वटा वडामा धान जोन विस्तार भएको पौडेलले बताउनुभयो ।
कुश्मा नगरपालिकाको वडा ५ र ६ वडा बाहेक अन्य १२ वटा वडामा धान जोन सञ्चालनमा छ ।
कुश्मामा दुई वर्ष अगाडिदेखि धान जोन कार्यक्रम सञ्चालनमा छ । मोदी गाउँपालिकामा ५ र ६ मा पनि कार्यक्रम सञ्चालनमा छ ।
जिल्लामा तरकारी जोनको प्रस्ताव गण्डकी प्रदेशको कृषि मन्त्रालयमा पेश गरिएको पौडेलले बताउनुभयो ।
जोन बनाउनका लागि जलजला, कुश्मा र मोदी गाउँपालिकाको मध्यपहाडी लोकमार्ग क्षेत्र लाई समेट्ने लक्ष्य रहेको छ । जोन बन्नका लागि एक हजार हेक्टर क्षेत्रफल आवश्यक पर्छ । चालु वर्ष भैँसी पकेट क्षेत्र, तरकारी ब्लक, सुन्तला जोन, ब्लक तथा पकेट क्षेत्र जिल्लामा सञ्चालनमा रहेका छन् ।
जलजलाको बाँसखर्क सुन्तला जोनमा समावेश गरिएको छ भने धाईरिङ, शालिजा र नाग्लीवाङ तरकारी पकेट क्षेत्रमा रहेको छ ।
मोदी, फलेवास, महाशिला र पैयुँमा सुन्तला पकेट क्षेत्र सञ्चालनमा छ । कृषिको व्यावसायिककरण, यान्त्रिकीकरण तथा प्रविधिकरणका लागि परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्