कोरोना कहर : स्वास्थ्य मापदण्ड विपरीत सार्वजनिक कार्यालयमा भिडभाड

काठमाडौँ । कोरोना सङ्क्रमणबाट संक्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भए पनि सरकारी कार्यालयहरुमा सेवा लिनेहरूको भीड पनि बढ्दो छ ।
जनस्वास्थ्यका मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न सरकारको निर्देशन सरकारी कार्यालय र सार्वजनिक स्थलहरूमा राम्ररी कार्यान्वयन हुन सकेको छैन । सर्वसाधारणसँग प्रत्यक्ष जोडिएका मालपोत, नापी, यातायात र पालिकाहरु जस्ता कार्यालयहरुमा सेवाग्राहीको भिडभाड उत्तिकै छ ।
बिहीबार दिउँसो काठमाडौँ डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालय पुग्दा सेवाग्राहीहरूको निकै नै भिडभाड देखिन्थ्यो । स्वास्थ्य मापदण्ड अनुसार त्यहाँ न भौतिक दुरी कायम गरेको देखिन्थ्यो न त मास्कको सही प्रयोग गरिएको नै ।

यो त एउटा प्रतिनिधि दृश्य मात्रै हो, कोरोना सङ्क्रमणको महामारीलाई बिर्साउने यस्ता दृश्यहरू उपत्यकाका प्रायः सबै कार्यालयहरुमा उस्तै देखिन्छन् ।
कोरोना सङ्क्रमणबाट बच्नका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिँदै आएको भए पनि त्यहाँ सेवा लिन पुगेका कतिपय सेवाग्राहीहरूले भने यसको पालना गरेको पाइएन ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्ली बजारका मालपोत अधिकृतसँग तपाइको कार्यालयमा सेवा लिन आउनुभएका सेवाग्राहीहरूलाई कोरोना संक्रमण हुनबाट जोगाउने गरी व्यवस्थापन गर्न नसक्नुभएको हो भन्ने प्रश्नमा मालपोत अधिकृत बुद्धिबहादुर कार्कीले आफूहरूले मापदण्ड अपनाउन भनिरहेको भए पनि कतिपय अवस्थामा सेवाग्राही स्वयं सचेत नहुँदा अप्ठ्यारो पर्ने गरेको बताउनुभयो ।
उहाँले कोरोना संक्रमण कम गर्नका लागि आफूहरूले सेवाग्राही प्रवेश गर्ने स्थानमा स्यानिटाइजर राखिएको, रजिष्टरमा इन्ट्री गर्नुपर्ने व्यवस्था मिलाइएको, भौतिक दुरी कायम गरी मास्कको प्रयोग गरेर मात्र भित्र पस्ने व्यवस्था गरिएको र टोकनका आधारमा पहिले आउनेलाई पहिले सेवा दिने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।
मालपोत कार्यालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन भनिरहेको भए पनि कतिपय सेवाग्राही आफै सचेत नभई सेवा लिन मात्रै हतार गर्दा जोखिम झन् बढ्न सक्ने त्यहाँ सेवा लिन पुग्नुभएका सेवाग्राही सञ्जीव पाण्डेले बताउनुभयो ।

कार्यालयमा भिडभाड भए पनि सेवा लिनै पर्ने बाध्यता भएको लाइनमा बस्नुभएका अन्य सेवाग्राहीहरूको गुनासो छ ।
कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले निर्देशन गरे अनुसारका मापदण्ड पालना गराउन सम्बन्धित कार्यालयले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने र सकेसम्म आफैँ पनि सचेत हुनुपर्ने भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाका लागि लाइनमा बस्नुभएका सेवाग्राहीहरू रुविता महर्जन र केदार गिरीले बताउनुभयो ।
काठमाडौँका विभिन्न कार्यालय र व्यस्त रहने स्थानहरूमा हुने भिडभाडलाई नियन्त्रण गरी जनचेतना जगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति गठन गरेको जनाएको छ ।

आफ्नो कार्यालयमा माइकिङ गर्ने, भौतिक दुरी कायम गराउने, लाइन व्यवस्थित बनाउने, जनचेतना जगाउने काम पनि सम्बन्धित कार्यालय प्रमुखको जिम्मेवारी भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयहरू, विभिन्न सपिङ मलहरू लगायतका स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना भए नभएको विषयमा जिल्ला प्रशासन कार्यालयले समय समयमा अनुगमन समेत गरिरहेको र मापदण्ड उल्लङ्घन गरेको पाइएमा कानुन अनुसारको कारबाही समेत गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
दिनहुँ कोरोना संक्रमण बढिरहेको र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आउन नसकेको हालको अवस्थामा यसबाट बच्न व्यक्ति स्वयं सचेत हुन जरुरी छ । त्यसैले सार्वजनिक कार्यालयहरुमा लाइन लाग्दा भौतिक दूरी कायम गरौँ । मास्क र स्यानिटाइजरको सही ढङ्गले प्रयोग गरौँ । होइन भने तपाई स्वयं र तपाईँबाट अरूलाई कोरोना संक्रमण हुनसक्छ ।









प्रतिक्रिया राख्नुहोस्