तपाईँ सुन्दै हुनुहुन्छः

साइकल वितरण कार्यक्रममा छात्राहरूको आकर्षण बढ्दै

वीरगञ्ज । प्रदेश नम्बर २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । 
अभियानमा प्रदेश नम्बर २ का आठ वटै जिल्लामा रहेका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरू सामेल छन् ।

प्रदेश सरकारले कक्षा ८ मा अध्ययनरत सामुदायिक विद्यालयका प्रत्येक छात्रालाई साइकल वितरण गरिरहेको छ । साइकल हस्तान्तरण कार्यले छात्राहरू पनि निकै उत्साहित देखिएका छन् । पर्सा जिल्लामा अहिलेसम्म ८० प्रतिशत सामुदायिक विद्यालयमा साइकल वितरण भइसकेको बत्ताइन्छ । टाढा टाढाका विद्यार्थीहरूलाई अभियानले साइकल प्रदान गरेसँगै विद्यालय आउन जान निक्कै सजिलो हुने गरेको छात्राहरूको भनाई छ ।

अभियान सञ्चालन भएपछि कक्षा ८ मा अध्ययन गर्नेको संख्या त बढेकै छ अझ उच्च शिक्षा अध्ययन गर्नेको संख्या पनि बढिरहेको छ । अभियान सञ्चालनपछि अभिभावकहरुले आफ्ना छोरीहरूलाई विद्यालय पठाउन चासो दिन थालेको पर्सा सखुवाप्रसौनीका युवा शिव कुमार साहले बताउनुभयो ।हालसम्म प्रदेश सरकारले टेन्डर प्रक्रिया मार्फत करिब २५ हजार साइकल खरिद गरी ९० प्रतिशत साइकल वितरण गरिसकिएको मुख्य मन्त्री लालबाबु राउत स्वकीय सचिव दिपक यादव बताउनु हुन्छ ।

शिक्षा क्षेत्रमा छात्राको आकर्षण बढाउन र सामाजिक क्षेत्रमा रहेका कुरीति समाप्त गर्न यो अभियान सञ्चालन गरिएको स्वकीय सचिव यादवले बताउनुभयो । साइकल वितरण अभियानमा छात्राहरूका लागि भइरहेको खर्च खासै धेरै नभए पनि अभियानमा देखिएको जनलहर तथा आकर्षणले अभियान प्रभावकारी बन्दै गइरहेको देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button