अख्तियारद्वारा नारायणी अस्पतालको फार्मेसीमा छापा

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले आज नारायणी अस्पतालको फार्मेसी विभागमा छापामारेको छ ।
स्वास्थ्य बिमा गरेका विमित तथा गरिब असहाय बिरामीलाई निःशुल्क रुपमा प्रदान गरिने औषधिमा घोटाला भएको कुरा सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाबाट आएको टोलीले छापामारी अनुसन्धान सुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालय मातहत रहेको नारायणी अस्पताल भित्र सञ्चालित फार्मेसीमा आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ५४ लाख रुपैयाँको औषधि खरिद गरिएकोमा हाल फार्मेसीको खातामा २७ लाख रुपैयाँ मौजुदा भेटिएको र १ करोड २३ लाख बराबरको औषधीको हिसाब किताब नरहेको भेटिएपछि अस्पतालले समेत यस सम्बन्धमा छानबिन गरिरहेको बेला अख्तियारले आज छापामारी अनुसन्धान सुरु गरेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. वीरेन्द्र प्रधानले बताउनुभयो ।

नारायणी अस्पताल फार्मेसी विभागका प्रमुख हरेन्द्र यादव सहित फार्मेसीका अन्य कर्मचारीमाथि छानबिन सुरु भएको अस्पतालले जनाएको छ ।
अख्तियारको टोलीले सो सम्बन्धमा थप अनुसन्धान गर्न फार्मेसी विभागमा रहेका आवश्यक कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख अर्जुनप्रसाद शर्माले जानकारी दिनुभयो ।
उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा आएको ५ सदस्यीय छानबिन टोलीले छापा मारेको सापकोटाले बताउनुभयो ।
यता नारायणी अस्पतालमा अख्तियारले छापा मारेसँगै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूमा सन्त्रास छाएको छ ।








प्रतिक्रिया राख्नुहोस्