तपाईँ सुन्दै हुनुहुन्छः

अर्बौँ मूल्यको नेपाल रेल्वेको जग्गा भारतीयद्वारा अतिक्रमण


बीरगंज । सम्बन्धित निकायको लापरबाहीका कारण अर्बौँ मूल्यको नेपाल रेल्वेको रक्सौलस्थित १६ बिगाहाभन्दा बढी जग्गा बेवारिसे बन्नुका साथै भारतीय नागरिकहरूले अतिक्रमण गरेका छन् । 

वीरगन्जसँग जोडिएको भारतीय शहर रक्सौलमा विगत ९४ वर्ष अगाडी  नेपालले तत्कालीन ब्रिटिस–इन्डिया सरकारसँग खरिद गरेको रेल्वेको जग्गा वर्षौँदेखि बेवारिसे बनेको छ । 

नेपाल सरकारले संरक्षण र उपयोगमा चासो नदिँदा रक्सौलका स्थानीयवासीले सो जग्गा अतिक्रमण गरी बस्ती नै बसालेका छन् । 

नेपाल रेल्वेको उक्त जग्गा चार दशकदेखि बेवारिसे छ । जग्गाको करिब मध्य भागमा रहेको रेल्वेको भवन जीर्ण भएर भग्नावशेषमा रूपान्तरित हुन थालेको छ । 

तत्कालीन नेपाल रेल्वेको अभिलेखअनुसार १६ बिघा १ कट्ठा ४ धुर क्षेत्रफल रहेको उक्त जग्गामा पुग्न नेपालले खरिद गरेको आफ्नै बाटो समेत रहेको छ । सोही बाटो भएर उक्त जग्गामा पुग्न सकिन्छ । नेपाल रेल्वेको जग्गा नेपाली पक्षको लापरबाहीले गर्दा नै भारतीयद्वारा अतिक्रमण गरिएको हो । 

नेपाली जग्गामा बनाइएका घर, टहरा हटाउन पनि अहिले सहज नरहेको र भारतको सरकारी पक्षले उक्त जग्गा नेपाल सरकारको रहेको भन्दै त्यहाँ भइरहेको सडक निर्माणका लागि नेपाल सरकारको सहमति समेत खोजेको बुझिएको छ । 

नेपालले आफूले उपयोग नगर्ने हो भने अर्बौँको मूल्यमा भारत सरकार तथा भारतीय जनतालाई सो जग्गा बिक्री गर्न सक्ने अवस्था रहेको छ । 

तर यसतर्फ सरकारी कुनै निकायले ध्यान नदिएको वीरगंजका उद्योगी व्यवसायीहरूले बताएका छन् । 

बीरगंजका उद्योगी व्यवसायीहरूले भारतमा करोडौँ मूल्य तिरेर डर्टी कार्गो तथा भारतबाट आयातित औद्योगिक कच्चा पदार्थ रक्सौलमा भण्डारण गर्दै आएका छन् । 

सो जमिनमा नेपाल सरकारले सहमति दिए औद्योगिक कच्चा पदार्थ भण्डारण गर्ने गोदाम खोल्न सकिने उद्योगी व्यवसायीहरूले बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button