तपाईँ सुन्दै हुनुहुन्छः

रम्भा गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले आगामी आव २०७८/०७९ का लागि विनियोजन गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

नवौँ गाउँ सभाबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले शिक्षा, स्वास्थ्य र पशुपालनलाई केन्द्रमा राखेर रम्भाले आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम नवौँ गाउँ सभाबाट पारित गरेको जानकारी दिनुभयो । 

रम्भा गाउँपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तय प्रवक्ता रेग्मीले उल्लेख गर्नुभयो ।

समग्र कृषि क्षेत्रको विकासले मात्र समृद्ध गाउँपालिका बनाउन सकिने भन्दै प्रवक्ता रेग्मीले कृषिको व्यावसायिकीकरणमा रम्भाले लगानी गर्ने बताउनुभयो । 

उहाँले आगामी आवका लागि कृषितर्फ ३ करोड ४१ लाख बजेट विनियोजन गरेको बताउनुभयो । 

यस्तै शिक्षा क्षेत्रका लागि १ करोड ९८ लाख, स्वास्थ्यतर्फ १ करोड ६० लाख, पूर्वाधार निर्माणलाई समेत बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

दूध, मासु र अण्डामा गाउँपालिकालाई आत्मनिर्भर बनाउने, किसानलाई प्रोत्साहन अनुदान तथा पुरस्कृत गर्ने, गाउँपालिकाभित्र रहेका ल्याब सेवालाई निःशुल्क बनाउने, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, विपन्न परिवारका लागि स्वास्थ्य बिमा गरिदिने, कोभिड अस्पताल सञ्चालन गर्ने रम्भाको योजना छ । 

यस्तै हरेक एक घरमा एक धारा पुर्‍याउने, काठका पोल हटाएर स्टिलका पोल राख्ने, रम्भा गाउँपालिका भित्रका सडकको स्तरोन्नतिमा ध्यान दिने लगायतका कार्यक्रम आगामी वर्षका लागि तय भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनताका सामु आफूहरूले गरेको प्रतिबद्धता अनुसार विकास निर्माण तथा समृद्ध गाउँपालिका बनाउन काम भइरहेको बताउनुभयो । 

अध्यक्ष भण्डारीले गाउँपालिकाले विगतमा सञ्चालन गरेका राम्रा कामलाई निरन्तरता दिएको उल्लेख गर्नुहुँदै स्मार्ट गाउँपालिका बनाउने योजना अनुसार काम भइरहेको बताउनुभयो । 

रम्भाका जनतालाई आत्मनिर्भर र स्वावलम्बी बनाएपछि नै सुखी र समृद्ध रम्भा बन्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button