हेलम्बुमा अझै २३ जना बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीमा हालसम्म २३ जना बेपत्ता भएका जनाएको छ ।
गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र त्यसपछि आएको बाढीमा परी स्थानीयवासी २३ जना बेपत्ता भएका गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन् । जसमध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३ भारतीय र ३ चिनियाँ नागरिक समेत छन् ।
गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ । बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ । गाउँपालिकाले आज नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम रहेको जनाउँदै उच्च सावधानी तथा सतर्कता अपनाउन स्थानीय बासीलाई आग्रह गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्