उपत्यकासहित २२ जिल्लामा कोरोना सङ्क्रमण दर डरलाग्दो

काठमाडौँ । सरकारले उपत्यकाका तीन जिल्लासहित २२ जिल्लामा कोरोना सङ्क्रमण डरलाग्दो गरी फैलिरहेको भन्दै सबैलाई संवेदनशील बन्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सर्वसाधारणमा अपिल जारी गर्दै सङ्क्रमणका हिसाबले नेपालका अति प्रभावित जिल्लाहरूमा उपत्यकाका तीनसहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा सङ्क्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको भन्दै संवेदनशील बन्न सबैलाई आग्रह गरेको हो ।
मन्त्रालयले जारी गरेको अपिलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने अवस्था भइसकेको उल्लेख गरिएको छ ।
मन्त्रालयले सङ्क्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न सबैलाई अनुरोध गरेको छ । यसै गरी कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि गरिने कामहरू नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्